बलात्कारको आरोपमा पक्राउ परेका सिद्धबाबासँग दुई नागरिकता

सोलुखुम्बु : आफ्नै अनुयायीलाई बलात्कार गरेको आरोपमा पक्राउ परेका सिद्धबाबा भनिने कृष्णदास गिरीले २ वटा नेपाली नागरिकता लिएको खुलेको छ। सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका ४ साविक जुबु गाउँ विकास समिति १ मा जन्मिएका गिरीले सुनसरी र सोलुुखुम्बुबाट दोहोरो नागरिकता लिएको पाइएको जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुले जनाएको छ।

सोलुखुम्बुबाट जन्म मिति वि.सं. २०३० साल मंसिर १० गते लेखिएको २२२७र५९५ नम्बरको नेपाली नागरिकता लिएका गिरिले जिल्ला प्रशासन कार्यालय सुनसरीबाट श्री वैष्णव कृष्णदासको नाममा जन्म मिति २०३१ साल फागुन १९ गते लेखिएको ०६९००४ नम्बरको नागरिकता लिएको पाइएको छ। दुवै नागरिकतामा जन्मस्थान जुबु सोलु र बुवाको नाम छबिलाल गिरी नै लेखिएको छ। २०४८ सालमा सोलुखुम्बुबाट लिएको नागरिकता पहिलो र झुँटो विवरण पेश गरेर २०६३ सालमा सुनसारीबाट अर्को नागरिकता लिएको पाइएको सोलुखुम्बुका सहायक प्रमुख जिल्ला अधिकारी विनोद गौतमले जानकारी दिए।

उमेर र नाम समेत परिवर्तन गरेका गिरीले २०६४ सालमा सुनसरीको तरहरामा जग्गा समेत खरिद गरेको पाइएको छ भने नयाँ नागरिकता लिइसकेपछि सोही वर्ष कृष्णबहादुर गिरी नामको पुरानो नागरिकताबाट उनले इटहरीमा अढाई कठ्ठा जग्गा खरिद गरेको पनि प्रमाण भेटिएको छ। यदि कसैले झुटो विवरण पेश गरी दोहोरो नागरिकता लिएको प्रमाणित भएमा उक्त नागरिकता रद्ध गरी १५ हजारसम्म जरिवाना गर्न सक्ने कानुनी व्यवस्था रहेको छ।