दूर्गन्ध फैलाएको आरोपमा कीर्तिपुरको सुकुम्बासी टहरा हटाइयो

दूर्गन्ध फैलाएको आरोपमा कीर्तिपुरको सुकुम्बासी टहरा हटाइयो

काठमाण्डौं : काठमाण्डौको कीर्तिपुर नगरपालिकाले बागमती नदी किनारमा बसेका सुकुम्बासीहरुको १५ टहरा भत्काएको छ ।

चोभार नजिक बागमती नदी क्षेत्र अतिक्रमण गरेर बसेको र बोसो मिश्रित साबुन फ्याक्ट्री सञ्चालन गरेर दुर्गन्ध फैलाएको भन्दै टहरा भत्काइएको हो । वातावरण प्रदूषण भएको गुनासो आएपछि बोसो फ्याक्ट्रीसहितका टहरा भत्काउन सुरु गरिएको कीर्तिपुर नगरपालिकाकी उपमेयर सरस्वती खड्काले बताएकी छन् ।

जनप्रतिनिधि भएर आउनुभन्दा वर्षौं अघिदेखि त्यहाँ बोसो, हड्डी पगाल्ने काम हुँदैे आएको थियो । फ्याक्ट्रीबाट निस्कने फोहोर सीधै बाग्मती नदीमा मिसाउने गरिएकाले पनि नगरपालीको पहलमा हटाउन लागिएको उनले बताइन।

बाग्मती किनारमा टहरा हालेर बसेका सुकुमबासीहरुले बोसोबाट साबुन बनाउने फ्याक्ट्री चलाइरहेका थिए । उक्त फ्याक्ट्रीबाट दुर्गन्ध फैलिएको भन्दै स्थानीयले नगरपालिकामा गुनासो गरेपछि टहरा भत्काईएको हो । यसअघि हाड, छाला, रौंलगायत जलाएर दुर्गन्ध फैलाएको भन्दै ललितपुरको नख्खु क्षेत्रबाट प्रहरीले केही व्यक्तिहरुलाई नियन्त्रणमा लिएको थियो । उनीहरुलाई जनही १० हजार नगद जरिवाना गरी छाडिएको थियो ।