खोटाङ : खोटाङमा भूकम्पका कारण घरविहीन बनेका पाँच हजार ९९७ लाभग्राहीले तेस्रो किस्ता पाएका छन् । पहिलो किस्ता लिने आठ हजार ३३२ लाभग्राहीमध्ये सात हजार ३९६ लाभग्राहीले दोस्रो किस्ता बुझेका हुन् ।
दश स्थानीय तह रहेको जिल्लामा पुनःनिर्माणतर्फका आठ हजार ४६२ र प्रवलीकरणतर्फका ३६१ परिवार गरी कूल आठ हजार ८२३ लाभग्राही रहेका छन् । पुनःनिर्माणको काम शुरु हुनुअगावै घर बनाएका ३५७ भूकम्पपीडितले एकमुष्ट रु तीन लाख अनुदान पाएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ (अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार)को कार्यालय खोटाङका प्रमुख घनश्याम उपाध्ययले बताए ।
राष्ट्रिय पुनःनिर्माण प्राधिकरण स्थापना भएको चार वर्ष पुगेको अवसरमा कार्यालयले दिक्तेलमा भएको अन्तक्र्रियामा आयोजना गरेको थियो । विसं २०७४ वैशाख ३ गतेदेखि सम्झौता शुरु गरेको पुनःनिर्माण प्राधिकरणले विसं २०७४ जेठ १९ गतेदेखि पहिलो किस्ता, २०७५ वैशाख ३० गतेदेखि दोस्रो किस्ता र २०७५ असोजदेखि तेस्रो किस्ता वितरण थालेको थियो ।
भूकम्प गएको चार वर्ष बितिसक्दासमेत खोटाङमा पुनःनिर्माणको काम ८१ प्रतिशत मात्र पूरा भएको अन्तक्र्रियामा जानकारी दिइएको बताइएको छ । पहिलो किस्तावापत रु ५० हजार रकम बुझेर अझै आवास निर्माणको काम शुरु नगर्ने लाभग्राहीको सङ्ख्या पनि उत्तिकै मात्रामा रहेको जनाइएको छ ।