चितवनकोे गौतम बुद्ध रङ्गशाला निर्माणमा प्रहरीद्धारा श्रमदान सुरु

चितवनकोे गौतम बुद्ध रङ्गशाला निर्माणमा प्रहरीद्धारा श्रमदान सुरु

चितवन : चितवनको भरतपुरमा निर्माण भइरहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा चितवन प्रहरीले श्रमदान शुरु गरेको छ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार शनिबार बिहान देखी २०० को सङ्ख्यामा पुगेर प्रहरीले रङ्गशाला निर्माणमा श्रमदान गरेको थियो। श्रमदान गर्न जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक दानबहादुर मल्लको नेतृत्वमा त्यहाँ टोली पुगेको थियो।

प्रहरीले गर्न सक्ने काम गरेको र रङ्गशाला निर्माण सम्पन्न नभएसम्म श्रमदान जारी रहने प्रहरी उपरीक्षक मल्लले बताएका छन्। रङ्गशाला निर्माणको काममा सकेको सहयोग गर्न तयार रहेको पनि बताए । प्रहरी टोलीले मुख्य कालोपत्रको ‘स्वेलिङ’का लागि ढुङ्गा भर्ने काम गरिरहेको छ। रङ्गशालामा बन्ने सबैभन्दा ठूलो रङ्गशाला र कालोपत्र रहने ठाउँको काम भइरहेको छ।

कमलको फूलको आकृतिमा बन्ने रङ्गशालाको ‘स्वेलिङ’को काम सकिएर डिपिसीको काम भइरहेको धुर्मुस–सुन्तली फाउण्डेशनका अध्यक्ष सीताराम कट्टेलले जानकारी दिए। निर्माणमा खर्चको अधारमा रकम सङ्कलन गर्न सकिएको छैन। रङ्गशाला निर्माणका लागि सहयोग आउने क्रम जारी रहे पनि अपर्याप्त भएको उनको भनाइ छ। रङ्गशालाको काम युद्धस्तरमा बढेको छ।

दैनिक १० लाख रुपैयाँ खर्च लाग्ने गरी काम अघि बढाइएको छ। विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) निर्माणमा केही ढिलाइ भएको भए पनि अहिले रङ्गशालको काम तीव्ररूपमा अघि बढिरहेको छ। निर्माणकार्यले गति लिएपछि रङ्गशाला अवलोकन गर्नुका साथै आर्थिक सहयोग आउने क्रम बढेको अभियानकर्मी अर्जुन भुषाल बताए। रङ्गशालालाई श्रमदान, आर्थिक सहयोग, निर्माण सामग्री उपलब्ध गराएर सहयोग गर्न सकिने फाउण्डेशनले व्यवस्था मिलाएको छ।