९० दिन भित्र एलपी ग्यासका नयाँ शाखाले पिडियो लिन नेपाल आयल निगमको निर्देशन

९० दिन भित्र एलपी ग्यासका नयाँ शाखाले पिडियो लिन नेपाल आयल निगमको निर्देशन

काठमाडौं : नेपाल आयल निगमले ग्यास उद्योग सञ्चालनको अनुमति लिएर पनि पीडीओ (प्रोडक्ट डेलिभरी अर्डर) नलिने ग्यास उद्योगीहरूको अनुमति रद्द गर्ने भएको छ ।

निगमले आइतबार एक सूचना जारी गर्दै पीडीओ नलिने उद्योगका अनुमति नै रद्द गर्ने चेतावनी दिएको हो । दर्ता भएका ग्यास उद्योगहरूले नेपाल आयल निगमको विनियम अनुसार, पीडीओ लिएर उद्योग सञ्चालन गर्नुपर्ने भएता पनि ०७१ माघ १४ पछि एलपी ग्यासका नयाँ तथा शाखा उद्योग निर्माण गर्न निगमबाट अनुमति लिई निर्माणाधीन उद्योगहरूले अझै पनि पीडीओ लिएका छैनन् ।

ग्यास उद्योगहरूले पीडीओ लिन आनाकानी गरेपछि निगमले अनुमति रद्द गर्नेसम्मको चेतावनी दिएको हो । लाइसेन्स ओगटेर बसेका कतिपय ग्यास उद्योगीले पीडीओ लिन आनाकानी गरेपछि त्यस्ता उद्योगमाथि कडाइ गर्न लागिएको नेपाल आयल निगमका प्रवक्ता वीरेन्द्र गोइतले बताए । गोइतका अनुसार, दर्तापछि पीडीओ नलिएका उद्योगलाई लिनका लागि ९० दिनको समय दिइएको छ ।

तोकिएको ९० दिनभित्र पनि उद्योगहरूले पीडीओ नलिएमा निगमले प्रदान गरेको अनुमति खारेज गर्ने उनले जानकारी दिए । निगमको एलपी ग्यास विनियमावली २०६५ (संशोधनसहित) को विनियम ४ बमोजिम पीडीओ प्राप्त गर्न एलपी ग्यास उद्योगीहरूले अटेरी गरेर पीडीओ नलिएमा निगमले दिएका अनुमति खारेज गरिने बताइएको छ ।