अकुपाई टुँडिखेल अभियानमा कामपाले गरयो हस्तक्षेप

अकुपाई टुँडिखेल अभियानमा कामपाले गरयो हस्तक्षेप

काठमाण्डौं : काठमाण्डौंको टुँडिखेललाई अतिक्रमण मुक्त गराउन भन्दै सुरू गरिएको अकुपाई टुडिखेलको आठौं हप्ताको अभियानमा काठमाडौं महानगरपालिकाले अवरोध गरेको छ।

अभियान अन्तरगत अकुपाई टुडिखेलका अभियन्ता र समर्थकहरूले आज खुल्लामञ्चमा रहेको मञ्चमा रंग लगाउने कार्यक्रम राखेका थिए। रंग लगाउन उपस्थित कलाकारहरूलाई प्रहरीले सो कार्यका लागि अनुमति नभएको भन्दै उनीहरूलाई रोकेको हो। हाल रंग लगाउन पुगेका कलाकार, अभियानकर्मी र अभियानका समर्थकहरू खुल्लामञ्चमा प्रहरी हस्तक्षेपको विरोध गरीरहेका छन्।

अभियानकर्मीहरूले सार्वजनिक स्थलमा कार्यक्रम गर्न महानगरले लगाएको रोकप्रति आपत्ति प्रकट गर्दै विरोध गरेका छन्। अभियन्ता खुल्लामञ्च कसैको विर्ता नभएकाले कसेले रोक्न नसक्ने बताएका छन्। त्यसैगरी अभियन्ताहरूले सबैलाई यस अभियानमा सरिक हुन आव्हान गरेका छन्।

अभियन्ताहरूको विरोधपछि प्रहरीले कार्यक्रमस्थलमा गरेको अवरोध हटाएको छ। अब केही बेरमा कलाकारले खुल्लामंच रंगाउन सुरु गर्नेछन्। काठमाडौं महानगरपालिकाका मेयर विद्या सुन्दर शाक्यले अभियान सुरु भएपछि यसलाई राजनैतिक स्टन्टको संज्ञा दिदैं अभियानको कुनै अर्थ नभएको र खुल्लामञ्च ३ महिनामा पूर्णतया खाली हुने बताउँदै आएका छन्। तर, अभियानकर्मीहरूले भने खाली नभएसम्म आफ्नो अभियान जारी रहने बताउदै आएका छन्।