बारामा प्रहरीलाई घुस दिने महिला पक्राउ

बारा : बारामा प्रहरीलाई घुस दिने क्रममा एक महिला पक्राउ परेकी छिन्। पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका–२ की अम्बिका खातुन रहेकी प्रहरीले जनाएको छ। भन्सार छली गरी ल्याएको सामान प्रहरीले बरामद गरेको थियो।

सोही सामान छुटाउन प्रहरीलाई २८ हजार रुपैयाँ घुुस दिने क्रममा जितपुरसिमरा उपमहानगरपालिकाबाट खातुनलाई शुक्रबार पक्राउ गरीएको इलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब निरीक्षक गोविन्द पुरीले जानकारी दिए।

शुक्रवार बिहान बाराको जितपुरवाट हेटौंडातर्फ जादै गरेको यात्रुबाहक बसमा चेकजाँच गर्दा प्रहरीले कपडा बरामद गरेको थियो। प्रहरीले कपडा बरामत गरे लगत्तै सामान छुटाउन उनले रकमको प्रलोभन देखाएर प्रहरीलाई पटक–पटक फोन गरेको प्रहरीले बताएको छ। खातुनले यसअघि पनि प्रहरीकै संरक्षणमा भन्सार छली गरी सामान ल्याउने गरेको अनुसन्धानको क्रममा भेटिएको छ। पक्राउ परेकी खातुनलाई थप अनुसन्धानका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हेटौंडा कार्यालय पठाइएको छ।