काठमाडौं : नेपाल उद्योग वाणिज्य महासंघका वस्तुगततर्फका उपाध्यक्ष तथा व्यवसायी चन्द्रप्रसाद ढकालले महासंघको बरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । बाग्लुङ उद्योग वाणिज्य संघको आयोजनामा बाग्लुङमा सुरु भएको बाग्लुङ महोत्सवको उद्घाटन समारोहमा उनले बरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारीको घोषणा गरेका हुन् ।
बाग्लुङ ढकालको गृह जिल्ला पनि रहेको छ । ढकाल यसअघि देखि नै महासंघको बरिष्ठ उपाध्यक्षमा बलियो दावेदारको रुपमा हेरिएका थिए । हालको विधान अनुसार महासंघको बरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने व्यवस्था रहेको छ । हालका बरिष्ठ उपाध्यक्ष शेखर गोल्छा अध्यक्ष हुँदैछन् ।
यसै वर्ष यो व्यवस्थासहित विधान संशोधन गर्ने तयारी भएपनि सहमतिमा सो प्रक्रिया रोकेर गोल्छालाई अध्यक्ष बनाइँदैछ । त्यही व्यवस्थाका कारण महासंघको बरिष्ठ उपाध्यक्षमा हुने चुनावी भीडन्त भावी अध्यक्षका रुपमै हुने बताईएको छ ।