दोलखामा किवि महोत्सव गरेर भ्रमण वर्षको उद्घाटन गरीने

दोलखामा किवि महोत्सव गरेर भ्रमण वर्षको उद्घाटन गरीने

दोलखा : नेपाल भ्रमण बर्ष २०२० को अवसरमा भीमेश्वर नगरपालिकाले किवि महोत्सवको आयोजना गर्ने भएको छ । नेपालमै पहिलो पटक दोलखाबाट पहिचान र व्यवसायीक उत्पादन सुरु भएको किवि फलको प्रर्बदनका लागि भीमेश्वर नगरपालिकाले भ्रमण बर्ष २०२० को पहिलो दिन जनवरी १ मा किवि महोत्सव को आयोजना गर्ने भएको हो ।

लामोसाँगु जिरी सडक निर्माणको क्रममा इन्जिनियरको काम गर्न २०४३ सालतिर दोलखा आएका स्वीस नागरिक जेएफ मेस्सीले आफु बसेको चरिकोट स्थित श्याम खड्काको घरमा किवि फल रोपेका थिए । २०५८ र०५९ सालतिर श्याम खड्काले मेस्सीले रोपेको बिरुवामा फलेको ५२ किलो किवि फल पहिलो पटक काठमाडौँको कालिमाटीमा लगेर १० हजारमा बिक्रि गरेका थिए ।

त्यसपछि व्यवसायीक उत्पादन सुरु गरिएको किवि फलको खेती अहिले देशको विभिन्न पहाडी तथा हिमाली जिल्लामा समेत विस्तार भएको छ । दोलखाको चरिकोटबाट देशमै पहिलो पटक किवि फलको पहिचान र व्यवसायीक उत्पादन सुरु भएकोले यसको प्रवद्धनको लागि भीमेश्वर नगरपालिकाले सन् २०२० जनवरी १ को दिन सदरमुकाम चरिकोटमा किवि महोत्सव आयोजना गर्न लागेको नगरप्रमुख भरत केसीले बताए ।

एक सातासम्म चल्ने महोेत्सबमा किवि फलको स्टल राखिने, किविको उपयोगीता, उत्पादनको अवस्था आदिको बारेमा चर्चा गरिने भएको छ । कार्यक्रममा सुन्तला लगायत दोलखामा उत्पादन हुने कृषिजन्य वस्तुहरुको स्टल राखिने र स्टी«ट फेस्टीबलको समेत आयोजना गरिने नगरप्रमुख केसीले बताए ।

महोत्सवको अवधिभर सांस्कृतिक कार्यक्रम, सांस्कृतिक झाँकीहरु, राष्ट्रिय खेलाडिहरुको सम्मान लगायतका कार्यक्रम समेत सञ्चालन हुने नगरप्रमुख केसीको भनाई छ । किवि महोत्सवको अवधिमा दोलखा आउने पर्यटकहरुलाई चरिकोटको होटलहरुमा आवासको लागि २५ प्रतिशत र खाना, खाजाको लागि १५ प्रतिशत सम्म छुटको समेत व्यवस्था गरिएको नगरप्रमुख केसीले जानकारी दिए ।