सिन्धुपाल्चोक : सिन्धुपाल्चोकमा निर्माणाधीन जलविद्युत् आयोजनाको नाममा स्थानीयबासीमाथि ज्यादती बढ्दै गएको छ। जलविद्युत् आयोजनाका लगानीकर्ताहरुले गुण्डा परिचालन गरेर स्थानीयमाथि धम्की र कुटपिटसम्मका ज्यादती गरिरहेका छन्।
सिन्धुपाल्चोकको जुगल गाउँपालिका ३ मा निर्माणाधीन ३६ मेगावाटको अप्पर बलेफी जुगल गाउँपालिका ३ र २ को पाङ्गपु, बोल्दे, लिदी लगायतको क्षेत्रमा निर्माणाधीन अवस्थामा छ।सरकारले तोकेको मुआब्जासमेत स्थानीयलाई नदिइ त्रास देखाएपछि गाउँले पलायन हुन बाध्य भएका छन्। जलविद्युत् सञ्चालनक र उनीहरुले परिचालित गरेका गुण्डाहरुको धम्कीपछि त्यहाँका २० जना बासिन्दाले गाउँ छाडिसकेका छन्।
स्थानीय सातजनालाई मार्नेसमेत धम्की दिइएको स्थानीयबासीले बताएका छन्। मुआब्जाको बिषयलाई लिएर जलविद्युत् आयोजना सञ्चालक उमेश कसजूले स्थायीयलाई धम्की दिने गरेको गुनासो गाउँलेले गरेका छन्। मुआब्जाका बिषयमा बलेफीमा सार्वजनिक सुनुवाइ पनि भइसकेको छ। तर जलविद्युत् आयोजना सञ्चालकले कयौँ स्थानीयबासीलाई मुआब्जा नदिइ पेलेर अघि बढेका छन्। जसले गर्दा आयोजना प्रभावित स्थानीयबासीले अहिलेसम्म मुआब्जा पाउन सकेका छैनन्।
सरकारले तोकेको दर अनुसार आयोजना प्रभावितहरुको जग्गाको मुआब्जा दिने सहमति कम्पनीले गरिसकेको छ। तर मुआब्जा माग्दा काठमाडौंको बौद्ध आसपासमा गुण्डागर्दी गर्दै आएका सञ्जय लामासहितलाई जलविद्युत् आयोजना सञ्चालकले परिचालित गरेर कुटपिट गर्न लगाएका छन्। गुण्डाहरुको समूहले स्थानीयबासीमाथि कुटपिट गर्न लाएपछि आक्रोशित गाउँलेले ढुंगामुढा गरेका थिए।
गाउँलेले केही महिना अघि जलविद्युत् सञ्चालक र गुण्डाहरु समूहका गाडी पनि तोडफोड समेत गरिदिएका थिए। ३४ जनाको जग्गाका लागि १८ लाख रकम छुट्याएको सञ्चालक उमेत कसजूले बताए। करिब ४५ रोपनी जग्गाको लागि ५ लाख ४८ हजार १ सय ५० रुपैयाँ रकम छुट्याएको उनले जनाए। सञ्चालकले मनलाग्दी ढंगबाट स्थायीलाई धक्काएर आफ्नो काम अगाडि बढाएको स्थानीयले गुनासो गरेका छन्।