उचित क्षतिपूर्तिको माग गर्दै आफन्तद्वारा भीमदत्त र केआइसिंह राजमार्ग अवरुद्ध

उचित क्षतिपूर्तिको माग गर्दै आफन्तद्वारा भीमदत्त र केआइसिंह राजमार्ग अवरुद्ध

डडेल्धुरा : डडेल्धुरामा बस र मोटरसाइकल एकआपसमा ठोक्किँदा एक युवकको मृत्यु भएपछि आफन्तले सुदूरपश्चिम प्रदेशका मुख्य दुई राजमार्ग अवरुद्ध पारेका छन्। मृतकका आफन्तले बुधबार बिहानदेखि भीमदत्त र केआइसिंह राजमार्ग अवरुद्ध पारेका हुन्।

भीमदत्त राजमार्गअन्तर्गत अमरगढी नगरपालिका १ स्याउले बजारमा आफन्तले टालय बालेर सडक अवरुद्ध पारेका हुन्। क्षतिपूर्तिको माग गर्दै आफन्तले राजमार्ग अवरुद्ध पारेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायव उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिए। मंगलबार दिउँसो १ बजेतिर अमरगढी नगरपालिका १ लिसा कम्पनीनजिकै बस र मोटरसाइकल ठोक्किँदा अमरगढी नगरपालिका ११ सल्लाघारीका २० वर्षीय भरत बोहराको मृत्यु भएको थियो।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक न्यौपानेका अनुसार बस र मोटरसाइकल ठोक्किँदा घाइते गम्भीर भएका बोहरालाई डडेल्धुरा अस्पताल पुर्‍याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए। बस र बस चालक वीरेन्द्रबहादुर बुढालाई प्रहरीले नियन्त्रणमा लिएको छ। दुई वटा राजमार्ग अवरुद्ध पारिँदा सुदूरपश्चिमका सात पहाडी जिल्लाको यातायात ठप्प रहेको छ।

डडेल्धुरा, बैतडी, बझाङ, डोटी, दार्चुला, अछाम र बाजुराको मुख्य राजमार्ग भीमदत्त र केआइसिंह अवरुद्ध हुँदा सयौं सवारी साधनहरू सडकमै रोकिएका छन्। मृतक बोहराका आफन्तले उचित क्षतिपूर्तिको माग अघि सारेका छन्। युवकको मृत्युपछि यातायात समितिले कुनै वास्ता नगरेको भन्दै आफन्त आन्दोलित भएका हुन्।

‘जिल्ला प्रशासन कार्यालयमा बुझ्दामा यातायात समितिले ५०र६० हजारमा मात्रै कुरा मिलाउनु भनेको छ । उचित क्षतिपूर्ति नपाउँदासम्म आफूहरूले सडक अवरुद्ध पारिरहेने उनको भनाइ छ। उचित क्षतिपूर्तिको कुरा नमिल्दा आफन्तले शवको पोस्टमार्टम गर्न दिइरहेका छैनन्।’बोहराको शव अहिले डडेल्धुरा सदरमुकाममा रहेको डडेल्धुरा अस्पतालको शव घरमा राखिएको छ।मृतकका आफन्तले उचित क्षतिपुर्ति नभएसम्म सवको पोष्टमार्टम गर्न नदिने बताएका छन् ।