राष्ट्रपतिले राखिन् पशुपतिमा ८० करोडको सुनको जलहरी

राष्ट्रपतिले राखिन् पशुपतिमा ८० करोडको सुनको जलहरी

काठमाडौं । सरकारले पशुपतिनाथको मुल मन्दिरको शिवलिंगमा सुनको जलहरी राखेको छ। ८० करोड रूपैयाँ खर्च गरेर राखिएको १ सय ८ किलो सुनको जलहरीमा बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीले पूजा आरधाना समेत गरेकी छिन्।

‘पूजा आरधाना गरी पशुपतिनाथको मूल शिवलिंगको जलहरीलाई सुनले ढाकिएको छ,’ पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा। प्रदीप ढकालले भने, ‘पशुपतिनाथमा रहेको चाँदीको जलहरी जीर्ण भएकोले त्यही चाँदीको जलहरीलाई सुनको आवरणले ढाकिएको हो।’

सुनको जलहरी राख्ने काममा ८० करोड रुपैयाँ खर्च भएको छ। तर, सुनको जलहरी राख्ने विषय भने विवादमा परेको थियो। विवाद अदालतसम्म पुगेको बेला कोषले हतार हतारमा जलहरी राखेको हो। संस्कृत विदहरुले सुनको जलहरी राख्नु कानुन विपरीत भएको बताएका छन्। 

विगत ३ वर्षदेखि निर्माण भइरहेको काम बुधबार सम्पन्न भएको ढकालले जानकारी दिए।  ‘सुनको जलहरी अर्पण गर्नको निम्ति विगत पाँचदिन अघिदेखि पशुपतिनाथमा विधिपूर्वक पुजाआजा भइरहेको थियो,’ उनले भने, ‘बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीले सुनको जलहरी अनावरण गर्नुभएको हो ।’

साथै  सञ्चारकर्मीहरुको जिज्ञासाको जवाफ दिँदै सदस्य सचिव डा. ढकालले शिवरात्रीमा यस वर्ष अघिल्ला वर्षहरुमा जस्तो भक्तजन नआउने समेत बताएका छन्। दर्शनको सहज व्यवस्थापन, स्वास्थ्य तथा सुरक्षालाई ध्यानमा राख्दै तयारी गरिएको उनको भनाइ छ। योसँगै पशुपतिनाथमा शिवरात्रीको अवसरमा धुम्रपान, मद्यपान तथा लागूऔषध बर्जित गरेको उनको भनाइ छ।