मौसमविद्लाई प्रश्न : फेरि भारी वर्षा हुन थाल्यो त?

मौसमविद्लाई प्रश्न : फेरि भारी वर्षा हुन थाल्यो त?

काठमाडौँ । मनसुन बाहिरिँदै गरेको र अब खासै पानी पर्दैन भनेका बेला देशमा फेरि भारी वर्षा हुन थालेको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गको मौसम पूर्वानुमान महाशाखाले आज पनि देशका विभिन्न स्थानमा मध्यमदेखि भारीसम्म वर्षा हुने प्रक्षेपण गरेको छ। 

यसैबिच मौसम विभागका प्रवक्तासमेत रहेकी मौसमविद् विभूति पोखरेललाई हामीले सोधेका छौँ,  ‘फेरि भारी वर्षा हुन थाल्यो त, किन होला?’ उनले भनिन्, ‘बढी प्रभावचाहिँ अहिले पश्चिमी वायुकै छ अनि पश्चिमी न्यूनचापीय प्रणाली बनेको छ, सँगसँगै मनसुनी वायुको प्रभाव पनि देखिएको छ।’ 

सोही कारण आइसोलेड किसिमले भारी वर्षा पनि भएको उनको भनाइ छ। ‘हामीले पनि मध्यमसम्म मात्र वर्षा हुन्छ भनेका थियौँ भारी वर्षाको अनुमान त गरेका थिएनौँ’, मौसमविद् पोखरेलले भनिन्, ‘तर पछि जलवाष्पयुक्त हावाको लहर पनि राम्रै देखियो, यसैकारण भारी वर्षा पनि भयो।’ 

तर यस्तो वर्षा सबै स्थानमा नहुने र कतै कतै मात्र हुने उनले बताइन्। यो क्रम अझै ३ दिनसम्म जारी रहने देखिएको मौसमविद् पोखरेलले बताइन्। आज बिहान ८ बजे जारी अद्यावधिक बुलेटिनअनुसार,

२०८३ असोज २० गते (मंगलबार)

दिउँसो : देशभर साधारणतया बादल लाग्नेछ। देशका हिमाली भूभागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षा/हिमपातको सम्भावना छ। देशका पहाडी भूभागका केही स्थान तथा तराई भूभागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। लुम्बिनी र सुदुरपश्चिम प्रदेशका पहाडी र तराई भूभाग तथा बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ।

राति : देशका हिमाली र पहाडी भेगमा साधारणतया बादल लाग्नेछ। लुम्बिनी र सुदुरपश्चिम प्रदेशका तराई भूभागमा साधारणतया बादल तथा बाँकी तराई भूभागमा आंशिक बादल लाग्नेछ। देशका हिमाली भूभागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा/हिमपातको सम्भावना छ। देशका पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका थोरै स्थानमा तथा मधेस प्रदेश तथा कोसी, बागमती, गण्डकी प्रदेशका तराई भूभागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ।

छुटाउनुभयो कि ?