विद्यार्थी आन्दोलन चर्कियो, ५०० सम्म विद्यालय बन्द हुन सक्ने

विद्यार्थी आन्दोलन चर्कियो,  ५०० सम्म विद्यालय बन्द हुन सक्ने

काठमाडौं । शिक्षक अभाव, खचाखच कक्षाकोठा, जीर्ण विद्यालय भवन, लामो पठनपाठन समय र शिक्षामा बढ्दो असमानताको विरोधमा फ्रान्समा माध्यमिक तहका विद्यार्थीको आन्दोलन चर्किएको छ ।

सेप्टेम्बर १७ मा पेरिसनजिकैबाट सुरु भएको आन्दोलन देशभर फैलिएको छ । विद्यार्थीले विद्यालय बन्द, कक्षा बहिष्कार र धर्ना दिँदै शिक्षा क्षेत्रमा थप लगानी र शिक्षकको पर्याप्त व्यवस्था गर्न माग गरेका छन् ।

आन्दोलनको अर्को कारण सरकारले सन् २०२७ को शिक्षा बजेटमा एक हजार ५८८ स्थायी शिक्षक पद कटौती गर्ने योजना अघि सार्नु हो । सरकारले विद्यार्थी संख्या घट्दै गएकाले पद कटौती आवश्यक रहेको रहेकामा जोड दिएको छ । तर, शिक्षक र विद्यार्थी संगठनले शिक्षक अभाव भइरहेका बेला यस्तो निर्णय उचित नभएको बताएका छन् ।

आन्दोलनका क्रममा केही स्थानमा फोहरका डब्बामा आगजनी, प्रहरीमाथि ढुंगा र पटाका प्रहार तथा तोडफोडका घटना भएका छन् । अक्टोबर २ सम्म करिब ४०० विद्यालय पूर्ण रूपमा बन्द र ५६० विद्यालय प्रभावित भएका थिए । २४ विद्यालय आगजनी वा तोडफोडबाट प्रभावित तथा ७८ शिक्षा कर्मचारी घाइते भएका सरकारको भनाइ छ ।

सोमबार ४०० देखि ५०० विद्यालय पूर्ण वा आंशिक रूपमा बन्द हुन सक्ने अनुमान गरिएको छ । मंगलबार विद्यार्थी र ट्रेड युनियनहरूले राष्ट्रव्यापी प्रदर्शन तथा हडतालको तयारी गरेकाले आन्दोलन थप चर्कन सक्छ ।

विद्यार्थी आन्दोलनमा राजनीतिक हस्तक्षेपको आरोप लगाइए पनि यसको मुख्य मुद्दा शिक्षक अभाव, विद्यालयको कमजोर भौतिक अवस्था र शिक्षामा असमानता रहेको छ ।

छुटाउनुभयो कि ?