क्यानबेरा। अष्ट्रेलियामा रोजगारीका लागि उपलब्ध रिक्त पदको संख्या लगातार दोस्रो त्रैमासिक अवधिमा पनि घटेको छ। अष्ट्रेलियाली तथ्यांम ब्युरोले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार अगस्टसम्मको तीन महिनामा रोजगारीका खाली पद ०.९ प्रतिशतले घटेर ३ लाख २५ हजारमा सीमित भएका छन्।
यसअघि मेसम्मको तीन महिनामा पनि यस्ता पद २.२ प्रतिशतले घटेका थिए। यसरी लगातार दुई अवधिमा रिक्त पद घट्नुले त्यहाँको श्रम बजारमा कामदारको समग्र माग कमजोर हुँदै गएको संकेत गरेको छ।
रोजगारीका अवसरमा आएको यो गिरावट मुख्य रूपमा निजी क्षेत्रका कारण भएको हो। समीक्षा अवधिमा निजी क्षेत्रका रिक्त पद २ प्रतिशत अर्थात् ५ हजार ८ सयले घटेका छन्। यसको विपरीत सार्वजनिक क्षेत्रमा भने रोजगारीका अवसर ७.८ प्रतिशत अर्थात् २ हजार ८ सयले बढेका छन्, जसले निजी र सार्वजनिक क्षेत्रको रोजगारी मागमा प्रस्ट भिन्नता देखाउँछ।
उद्योगगत आधारमा हेर्दा थोक व्यापार क्षेत्रमा रोजगारीका अवसर सबैभन्दा धेरै १८ प्रतिशतले घटेका छन्। त्यस्तै व्यावसायिक, वैज्ञानिक तथा प्राविधिक सेवा क्षेत्रमा १७.३ प्रतिशतको गिरावट आएको छ। यी दुई क्षेत्रमा आएको ठूलो संकुचनले समग्र निजी क्षेत्रको रोजगारी घटाउन मुख्य भूमिका खेलेको छ।
तथापि, सबै क्षेत्रमा रोजगारी घटेको भने छैन। खुद्रा व्यापार क्षेत्रमा रिक्त पद २४.५ प्रतिशतले बढेका छन्, जुन उद्योगगत रूपमा सबैभन्दा उच्च वृद्धि हो। यस्तै वित्तीय तथा बीमा सेवा क्षेत्रमा पनि १४.१ प्रतिशतले नयाँ पद बढेका छन्। यसले ग्राहकसँग प्रत्यक्ष जोडिने र सेवामूलक क्षेत्रमा अझै पनि कामदारको माग बलियो रहेको देखाउँछ।
वार्षिक रूपमा तुलना गर्दा अष्ट्रेलियामा रोजगारीका अवसर १.३ प्रतिशतले घटेका छन्। समग्रमा, अष्ट्रेलियाको श्रम बजारमा निजी क्षेत्र र प्राविधिक सेवामा अवसर घटे पनि खुद्रा व्यापार, वित्तीय क्षेत्र र सार्वजनिक निकायमा नयाँ रोजगारीका ढोकाहरू खुलै रहेकाले क्षेत्रगत आधारमा अवसरको अवस्था फरक-फरक रहेको छ।