एपेक शिखर सम्मेलन : सीले सम्बोधन गरिरहे, ट्रम्प निदाइरहे

एपेक शिखर सम्मेलन : सीले सम्बोधन गरिरहे, ट्रम्प निदाइरहे

काठमाडौं । चीनको सेन्जेनमा आयोजित एपेक समिटमा वार्ताको क्रममा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आफ्नै सिटमा निदाइरहेको दृश्य अहिले चर्चामा छ।

चिनियाँ राष्ट्रपति सी चिनफिङले एसिया-प्यासिफिक क्षेत्रका लागि चीनका आशाहरू प्रस्तुत गरिरहेका थिए। लाइभ फिड अनुसार, ८० वर्षीय ट्रम्प सोही समयमा झकाएको जस्तो देखिए । उता, रूसी राष्ट्रपति भ्लादिमिर पुटिनको नजर भने बैठककोमै केन्द्रित रह्यो। क्यानडाका प्रधानमन्त्री मार्क कार्नी र हङकङका नेता जोन लीले नोटहरू लेखिरहेका थिए ।

जापानी प्रधानमन्त्री सानाए ताकाइची सीको सम्बोधनको केही भागमा मुस्कुराइरहेको देखिइन्।

जुन महिनामा अमेरिकी विदेशमन्त्री मार्को रुबियोले कंग्रेसनल सुनुवाइमा एक विषय अस्वीकार गरेका थिए। ट्रम्प मन्त्रिपरिषद् बैठकसहित सार्वजनिक स्थानहरूमा प्रायः उँघ्ने गरेको कुरालाई उनले नकारेका थिए।

‘मैले उनलाई कहिल्यै निदाएको देखेको छैन । यसको विपरीत, ती व्यक्ति सुत्दैनन्, जुन एउटा ठूलो समस्या हो’ उनले हाउस फरेन अफेयर्स कमिटीलाई बताएका थिए।

अप्रिलमा एजेन्स फ्रान्स-प्रेसको एक रिपोर्टअनुसार, सामाजिक सञ्जालमा एउटा तस्बिर भाइरल भएको थियो। उक्त तस्बिरमा ह्वाइट हाउसको एक कार्यक्रममा ट्रम्प निदाइरहेको देखाइएको थियो। तर, त्यो तस्बिर एक ग्राफिक आर्टिस्टले बनाएका थिए। ती कलाकारले समाचार एजेन्सीलाई त्यो एक प्यारोडी भएको बताएका थिए।

विगत तीन दिनदेखि ट्रम्पको कार्यतालिका निकै व्यस्त रहेको छ। उनी आसियान समिटका लागि मंगलबार स्थानीय समयअनुसार साँझ ५:३० बजे फिलिपिन्सको राजधानी मनिला पुगेका थिए।

त्यसपछि उनी बुधबार दिउँसो स्थानीय समयअनुसार ४:३० बजे चीनमा अवतरण गरे। विमानस्थलमा उनलाई सीले स्वागत गरेका थिए। उनी बुधबार साँझ राजकीय रात्रिभोजमा सहभागी भए। बिहीबार बिहान ९:२४ बजेसम्ममा उनको मोटरकेड एपेक सम्मेलन स्थलतर्फ प्रस्थान गरिसकेको थियो।

आज दिउँसो ट्रम्पले सीसँग द्विपक्षीय वार्ता गर्ने अपेक्षा गरिएको छ। त्यसपछि उनीहरूसँग पुटिन पनि सामेल हुनेछन्।