युरोपका २५ भन्दा बढी देशमा युवा र श्रमिकहरूले बढ्दो महँगी, शिक्षामा बजेट कटौती, बेरोजगारी, जलवायु संकट र युद्धका लागि बढ्दो सैन्य खर्चको विरोधमा प्रदर्शन गरेका छन् ।
विद्यार्थी समूहले विद्यालय, कलेज र विश्वविद्यालयबाट बाहिर निस्केर सार्वजनिक सेवा सुधार, शिक्षामा पर्याप्त लगानी, जीवनयापनको खर्च घटाउन र युद्ध तथा पुनःसैन्यीकरणमा खर्च भइरहेको रकम जनताको आवश्यकता पूरा गर्न प्रयोग गर्न माग गरेका छन् ।
प्रदर्शनकारीले आफ्ना सरकार तथा नेताहरूले इजरायलको गाजामाथिको युद्धमा साथ दिएको भन्दै त्यसको पनि विरोध गरेका छन् । युरोपका २५ भन्दा बढी देशमा शुक्रबार हजारौँ युवा तथा श्रमिक सडकमा उत्रिएका छन् । अन्तर्राष्ट्रिय रूपमा समन्वय गरिएको युवा नेतृत्वको आन्दोलनअन्तर्गत उनीहरूले बढ्दो महँगी, शिक्षा क्षेत्रमा बजेट कटौती, बेरोजगारी, जलवायु संकट र युद्धका लागि बढ्दो सैन्य खर्चको विरोध गरेका हुन् ।
बेलायत, फ्रान्स, स्पेन, इटाली, जर्मनीलगायतका देशमा विद्यार्थी समूहले विद्यालय, कलेज र विश्वविद्यालयबाट बाहिर निस्केर प्रदर्शन गरेका छन् । उनीहरूले सार्वजनिक सेवा सुधार, शिक्षामा पर्याप्त लगानी, जीवनयापनको खर्च घटाउन र युद्ध तथा पुनःसैन्यीकरणमा खर्च भइरहेको रकम जनताको आवश्यकता पूरा गर्न प्रयोग गर्न माग गरेका छन् ।
प्रदर्शनकारीले आफ्ना सरकार तथा नेताहरूले इजरायलको गाजामाथिको युद्धमा साथ दिएको भन्दै त्यसको पनि विरोध गरेका छन् ।
२५ भन्दा बढी देशमा प्रदर्शन
युरोपका विभिन्न देशमा विद्यार्थी, युवा, श्रमिक र अन्य समूहले राजधानी तथा प्रमुख सहरका सार्वजनिक स्थलमा प्रदर्शन गरेका हुन् । इटालीको सबैभन्दा ठूलो ट्रेड युनियन सिजिआईएलका अनुसार देशका १०० भन्दा बढी सार्वजनिक स्थलमा प्रदर्शन भएको छ । मिलानको डुओमो स्क्वायरसहित विभिन्न सहरमा प्रदर्शनकारी भेला भएका थिए । इटालीमा यातायात क्षेत्रका श्रमिकले शुक्रबार र शनिबार हडताल गर्ने कार्यक्रम राखेको छ ।
Asian Paints
बेलायतको राजधानी लन्डनमा पनि विद्यार्थी समूह संसद् भवननजिकै रहेको पार्लियामेन्ट स्क्वायरतर्फ मार्च गर्दै पुगेका थिए । आन्दोलनमा सहभागी समूह सोसलिस्ट स्टुडेन्ट्सका अनुसार बेलायतका ३५० भन्दा बढी विद्यालय, कलेज र विश्वविद्यालयका विद्यार्थी प्रदर्शनमा सहभागी हुने वा शैक्षिक गतिविधि छाडेर आन्दोलनमा उत्रिने अपेक्षा गरिएको थियो ।
जर्मनीको कोलोनसहित विभिन्न सहरमा पनि विद्यार्थीले प्रदर्शन गरेका छन् । ह्याम्बर्गमा प्रहरीका अनुसार शुक्रबार करिब चार हजार प्रदर्शनकारीले ‘जेनजी रिगेल्ट’ अर्थात् ‘जेनजीले अब जिम्मेवारी लिन्छ’ भन्ने नारासहित मार्च गरेका थिए ।
इटालीको रोम, जेनोवा, बोलोन्या र मिलानलगायत सहरमा प्रदर्शनकारीले सैन्य खर्च बढाउने योजनाको विरोध गर्दै सार्वजनिक सेवामा थप लगानी गर्न माग गरेका थिए । इटालीको ट्रेड युनियन सिजिआईएलका प्रमुख माउरिजियो लान्दिनीले देशभरका प्रदर्शनमा १० लाखभन्दा बढी मानिस सहभागी भएको दाबी गरेका छन् ।
‘आजको दिन निकै महत्त्वपूर्ण छ, किनकि युवा इटालीमा मात्र नभई युरोपभर सडकमा उत्रिएका छन्,’ लान्दिनीले भनेका छन्, ‘परिवर्तनको माग बढ्दै गएको छ ।’
महँगी, बेरोजगारी र शिक्षाको संकट
युरोपका युवाहरूको आन्दोलनको प्रमुख कारण जीवनयापनको खर्च लगातार बढ्नु हो । आवास, खाद्यान्न, दैनिक उपभोग्य वस्तु तथा अन्य आवश्यकतामा बढिरहेको खर्चले युवाहरूलाई आर्थिक दबाबमा पारेको छ ।
त्यस्तै, उच्च शिक्षाका लागि बढिरहेको शुल्क, शिक्षण संस्थाहरूमा पर्याप्त बजेटको अभाव र रोजगारीका अवसर सीमित हुँदै गएको विषय पनि आन्दोलनको प्रमुख एजेन्डा बनेको छ । प्रदर्शनकारीले शिक्षा क्षेत्रमा बजेट कटौती भइरहेको तर युद्ध र सैन्य तयारीका लागि भने ठूलो रकम छुट्याइएको भन्दै त्यसको विरोध गरेका छन् ।
बेलायतको सोसलिस्ट स्टुडेन्ट्सका राष्ट्रिय अध्यक्ष एडम पावेल–डेभिसले युवाहरूले विद्यालय, कलेज र विश्वविद्यालयको बजेट कटौती भइरहँदा युद्धका लागि अर्बौं रकम छुट्याइएको टुलुटुलु हेरेर नबस्ने बताएका छन् ।
‘हाम्रा विद्यालय, कलेज र विश्वविद्यालयमा बजेट कटौती गरिँदा युद्धका लागि अर्बौं रकम जुटाइन्छ । युवा पुस्ता चुपचाप बस्ने छैन,’ उनले भने, ‘हाम्रो भविष्यका लागि संघर्ष गरौँ, उनीहरूको युद्धका लागि होइन ।’
रोममा प्रदर्शनकारीले ‘विद्यालयका लागि पैसा, युद्धका लागि होइन’ र ‘महँगीबिनाको जीवन चाहन्छौँ’ जस्ता नारा लगाएका थिए ।
युद्ध र पुनःसैन्यीकरणको विरोध
युरोपका युवाहरूले सरकारहरूको सैन्य खर्च बढाउने नीतिलाई आफ्नो भविष्यका लागि खतरा मानेका छन् । उनीहरूले युक्रेन, गाजा, सुडान र इरानलगायतका क्षेत्रमा जारी युद्ध तथा द्वन्द्वले आफ्नो पुस्तालाई निरन्तर असुरक्षा, आर्थिक संकट र भविष्यप्रतिको अनिश्चिततामा धकेलेको बताएका छन् ।
कोभिड–१९ महामारी, जलवायु परिवर्तन र विभिन्न युद्धको प्रभावबीच हुर्किएको पुस्ताले सरकारले सार्वजनिक सेवामा लगानी घटाएर सैन्य खर्च बढाउने नीति लिएको भन्दै आलोचना गरिरहेको छ ।
जर्मनी, इटाली र बेलायतमा प्रदर्शनकारीले अनिवार्य सैन्य भर्ती, रक्षा बजेट वृद्धि तथा स्वास्थ्य, शिक्षा र अन्य सार्वजनिक सेवामा अपर्याप्त लगानीप्रति असन्तुष्टि व्यक्त गरेका थिए ।
इटालीको सिजिआईएल युनियनका अभियानकर्ता जर्जियो ऐराउडोले विद्यार्थी, श्रमिक र अवकाशप्राप्त व्यक्तिहरू युद्ध र पुनःसैन्यीकरणको विरोधमा एक ठाउँमा उभिनु महत्त्वपूर्ण भएको बताएका छन् । ‘विद्यार्थी, श्रमिक र अवकाशप्राप्त व्यक्तिहरू युद्ध र पुनःसैन्यीकरणविरुद्ध एकजुट भएर आवाज उठाउन पाएको सुन्दर दिन हो,’ उनले भनेका छन् ।
गाजामा युद्ध र सरकारको भूमिकामाथि प्रश्न
युरोपका प्रदर्शनकारीले आफ्ना देशका नेताहरूले इजरायलको गाजामाथिको युद्धलाई समर्थन गरेको वा त्यसमा संलग्न भएको भन्दै आलोचना गरेका छन् । उनीहरूले युद्ध रोक्न दबाब दिनुका साथै सैन्य सहयोग र पुनःसैन्यीकरणको नीति अन्त्य गर्न माग गरेका छन् ।
बेलायतको युद्धविरोधी अभियान समूह ‘स्टप द वार कोलिसन’ले पनि उच्च ज्याला, स्वास्थ्य सेवामा बढी खर्च र सैन्यकरणको विरोधमा आवाज उठाएको छ । समूहले सांसदहरूको व्यापक पुनःसैन्यीकरण अभियान र इजरायलले गाजामा गरेको नरसंहारमा उनीहरूको संलग्नताको आरोप लगाउँदै विरोध जनाएको छ ।
जलवायु संकट र कृत्रिम बुद्धिमत्ताको डर
आन्दोलनका अन्य कारणमा जलवायु संकट र अनियन्त्रित एआई प्रविधिबाट उत्पन्न जोखिम पनि छन् ।
युवा पुस्ताले जलवायु परिवर्तनको असर बढ्दै गए पनि सरकारहरूले पर्याप्त कदम नचालेको भन्दै असन्तुष्टि व्यक्त गरेको छ । उनीहरूले वातावरण संरक्षण, दिगो विकास र जलवायु संकटसँग जुध्न प्रभावकारी नीति तथा लगानी माग गरेका छन् ।
त्यस्तै, नियमनबिनाको एआई विकासले रोजगारी, श्रमिकको अधिकार र भविष्यको आर्थिक सुरक्षामा असर पार्न सक्ने भन्दै युवाहरूले सरकारहरूले प्रविधिको विकासलाई जनताको हितअनुकूल बनाउन आवश्यक कदम नचालेको चिन्ता व्यक्त गरेका छन् ।
पछिल्लो एक वर्षमा युरोप, विश्वका दक्षिणी क्षेत्र र अमेरिकाका विभिन्न भागमा जेनजी नेतृत्वका सरकारविरोधी प्रदर्शन भएका छन् । देशअनुसार आन्दोलनका माग फरक भए पनि सार्वजनिक सेवा, आर्थिक न्याय, रोजगारी, वातावरण संरक्षण र युद्धविरोधी आवाजले यी आन्दोलनलाई जोडेको देखिन्छ ।