विदेशी विमान कम्पनीलाई भ्रमण वर्षको जिम्मा दिएपछि सरकारी ध्वजावाहक असन्तुष्ट

विदेशी विमान कम्पनीलाई भ्रमण वर्षको जिम्मा दिएपछि सरकारी ध्वजावाहक असन्तुष्ट

काठमाडौं : नेपाल भ्रमण वर्ष सचिवालयले निजी लगानीको विदेशी वायुसेवा कम्पनी टर्कीस एयरलाइन्सलाई भ्रमण वर्षको आधिकारिक एयरलाइन्स तोकेको छ । यो कम्पनीसँग सचिवालयले ४ पुसमा सम्झौता गरेको हो । विदेशी निजी कम्पनीलाई यस्तो जिम्मा दिएपछि राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम असन्तुष्ट देखिएको छ ।

निगमले आधिकारिक एयरलाइन्स बन्न सरकारसँग ईच्छा व्यक्त गरेको थियो । तर, राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमलाई उपेक्षा गर्दै विदेशी एयरलाइन्ससँग सम्झौता गरिएको भन्दै निगम असन्तुष्ट बनेको हो ।

चालु आर्थिक वर्ष २०७६र ७७ को पहिलो चौमासिक समिक्षाका बेला निगमले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईसमक्ष आधिकारिक एयरलाइन्सका लागि अपेक्षा गरिएको जानकारी गराएको थियो ।

नेपाल वायुसेवा निगमले मन्त्रालयमा गरेको प्रस्तुतिमा भनिएको थियो, ‘भिजिट नेपाल इयर लोगो एयरबस जहाजमा राख्न ग्लोबल सील कोटेसन माग गरिसकिएको छ । सोका लागि मन्त्रालयबाट आधिकारिक एयरलाइन्सको लागि अपेक्षा गरिएको छ ।’

भ्रमण वर्ष सचिवालयले अफिसियल एयरलाइन्सका रुपमा सम्झौता गरेको कम्पनीले काठमाडौंलाई एक गन्तव्य (टर्की) मा मात्र जोड्नेछ । यता नेपाल एयरलाइन्सले अहिले ९ गन्तब्यमा काठमाडौंलाई जोडिरहेको छ भने निकट भविश्यमा चीनसहित १० गन्तव्यमा जोड्दैछ ।

टर्कीस एयरलाइन्स र भ्रमण वर्ष सचिवालयबीच भएको सम्झौता अनुसार नेपाल भ्रमण वर्ष सचिवालयको अफिसियल एयरलाइन्स टर्कीस हुने छ । सचिवालयले बेलायतसहित यूरोप र अमेरिकामा सामान ढुवानी गर्न टर्कीस एयरलाइन्स प्रयोग गर्ने भएको छ ।

अमेरिका र यूरोपमा हुने ट्राभल एण्ड टूर्स फेयरमा नेपाल भ्रमण वर्ष र टर्की एयरलाइन्सले संयुक्त रुपमा प्रचार गर्ने छन् । नेपाल भ्रमण वर्षको रिर्पोटिङ गर्न आउने निश्चित पत्रकारलाई कम्पनीले नै हवाई भाडा व्यहोरिदिने भएको छ ।