खोटाङमा समुदायले बनाइदिए प्रहरी चौकी भवन

खोटाङमा समुदायले बनाइदिए प्रहरी चौकी भवन

खोटाङ : खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्माका स्थानीयवासीले प्रहरी चौकी तालखर्कलाई सुविधासम्पन्न भवन निर्माण गरेर हस्तान्तरण गरेका छन् । स्थानीयवासीले श्रमदान तथा चन्दा सङ्कलन गरी रु १४ लाख ७५ हजार ८९७ रुपैयाको लगानीमा निर्माण गरिएको तीनकोठे भवन मङ्गलबार प्रहरीलाई हस्तान्तरण गरिएको हो ।

करीब पाँच महिना लगाएर निर्माण गरिएको भवनमा शौचालय, भान्साघर, बिजुलीबत्ती, खानेपानी, निःशुल्क इन्टरनेट सेवालगायत रहेको निर्माण उपभोक्ता समितिका अध्यक्ष पदम पुरीले जानकारी दिए ।

भाडाको घरमा सञ्चालन हुँदै आएको प्रहरी चौकीका लागि स्थानीय भूपाल पुरीले एक र शुभम् फाउण्डेशनले दुई रोपनी जग्गा निःशुल्क उपलब्ध गराएपछि श्रमदान र चन्दा सङ्कलनबाट सो भवन निर्माण गरिएको हो ।

भवन निर्माणका लागि समुदायको रु ६ लाख ८८ हजार ७ सय ९२ रुपैया श्रमदान तथा नगरपालिकाको जस्तापाता, काठ र दक्ष कामदार ज्यालावापत रु ६ लाख ३५ हजार रुपैया लगानी रहेको बताइएको छ । उक्त नवनिर्मित प्रहरी चौकी भवन नगरप्रमुख दीपनारायण रिजालले उद्घाटन गरेका थिए।