डडेल्धुरामा बससंग मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते

डडेल्धुरामा बससंग मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते

डडेल्धुरा : डडेल्धुरामा बस र मोटरसाइकल एकआपसमा ठोक्किँदा एकजनाको मृत्यु भएको छ। मंगलबार दिउँसो १ बजेतिर अमरगढी नगरपालिका १ लिसा कम्पनी नजिकै बस र मोटरसाइकल ठोक्किँदा उनको मृत्यु भएको हो । मृत्यु हुनेमा मोटरसाइकल पछाडी सवार अमरगढी नगरपालिका ११ सल्लाघारीका २० वर्षीय भरत बोहरा रहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ।

महेन्द्रनगरबाट बझाङ आउँदै गरेको ना ७ ख ६५२२ नम्बरको बस र जिल्ला सदरमुकाम बागबजारदेखि सकायलतर्फ गइरहेको से ४ प ५८८० नम्बरको मोटरसाइकल एकआपसमा ठोकिएको हो । बस र मोटरसाइकल ठोक्किँदा घाइते गम्भीर भएका बोहरालाई डडेल्धुरा अस्पताल पुरयाउँदा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दधिराम न्यौपाने जानकारी दिए ।

दुर्घटनामा गन्यापधुरा गाउँपालिका ३ सेल्तडाका मोटरसाइकल चालक १९ वर्षीय महेन्द्र ठगुन्ना रहेका गम्भीर घाईते भएका छन्। घाइते भएका उनको डडेल्धुरामा उपचार सम्भव नभएपछि धनगढी रेफर गरिएको छ। बस र बस चालक वीरेन्द्रबहादुर बुढालाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान गरीरहेको बताइएको छ ।