रामेछापमा जनप्रतिनिधिबीचको विवादले गाउँपालिकाको सबै काम ठप्प

रामेछापमा जनप्रतिनिधिबीचको विवादले गाउँपालिकाको सबै काम ठप्प

रामेछाप : रामेछापमा जनप्रतिनिधिबीचको बिबादले लिखु तामाकोशी गाउँपालिकाको कामकाज ठप्प भएको छ । बजेट तथा कार्यक्रम पास गर्नका लागि असार महिनामा बसेको गाउँ कार्यपालिकाको बैठकमा विवाद भएपछि बजेट र कार्यक्रम पास नहुँदा गाउँपालिकाको सम्पुर्ण कामकाज ठप्प भएको हो ।

नागरिक निगरानीको क्रममा सो पालिकामा वेथितिको नमुना देखिएको मानवअधिकार संरक्षण सञ्जाल रामेछापका संयोजक पाण्डव प्रसाईंले बताए । त्यस यता गाउँ कार्यपालिकाको बैठक समेत बस्न सकेको छैन ।

असारमा भएको बैठकमा गाउँपालिकाको वडा नं–१ दुरागाउँमा गरिएको विद्युतीकरणको लागि करिब ६ करोड रुपैयाँ विनियोजन गर्न गाउँपालिका अध्यक्ष गोविन्दबहादुर खड्काले प्रस्ताव गरेका थिए । कामको अनुगमन गरेपछि मात्र रकम विनियोनज गर्नुपर्ने प्रस्ताव गाउँपालिका उपाध्यक्ष दीपशिखा दाहाललगायतका कार्यपालिकाका सदस्यहरुले राखेपछि अध्यक्षले गरेको कामको किन अनुगमन भन्दै अध्यक्षले विवाद उठाएको कार्यपालिका सदस्यले बताएका छन् ।

अहिले विद्युत विवादको छानविनको लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले फाइल झिकाएको छ । ७ वटा वडा रहेको सो गाउँपालिकामा अध्यक्ष, उपाध्यक्ष र ६ जना वडाअध्यक्ष तत्कालिन नेकपा एमालेबाट बिजयी भएका छन् । एकजना वडाअध्यक्ष कांग्रेसबाट बिजयी भएका हुन् । बैठकमा विद्युतको लागि बजेट विनियोजन नगरेसम्म गाउँपालिकाको बजेट तथा कार्यक्रम पास नगर्ने अडान गाउँपालिका अध्यक्षले लिएका छन्।

गाउँपालिका आन्तरिक विवादमा फसेपछि सो गाउँपालिकामा कुनै पनि कर्मचारी जान नमानेपछि सबै कार्यलयको काम ठप्प भएको र गाउँपालिकाको ७ वटा वडाको वडासचिवको जिम्मेवारी एक जना वडा सचिवले सम्हाल्दै आएका छन् ।

वडा नं ६ का वडा सचिव केहरमान तामाङले ७ वटै वडाको पञ्जीकरणलगायतको काम गरिरहेका छन् । उनी हप्तमा ४ दिन आफ्नो वडामा बस्छन् भने ३ दिन गाउँपालिकाको कार्यालयमा बसेर ६ वटा वडाको पञ्चिकरणको काम गरदै आएका छन् । गाउँपालिकाको कृषि विकास शाखमा २ जना कार्यालय सहयोगी मात्रै रहेका छन् । उनीहरुले पालैपालो कार्यालय खोलेर बस्ने गरेका छन् । गाउँपालिकाका करार कर्मचारीले ६ महिनादेखि तलबसमेत पाएका छैनन् । आफूहरुले दशैं खर्चसहित साउनदेखिको तलब नपाएको सवओभरसियर अच्युत तिमल्सिनाले बताए ।