अर्घाखाँची बस दुर्घटना : छानविन समितिद्धारा प्रतिवेदन प्रस्तुत

अर्घाखाँची बस दुर्घटना : छानविन समितिद्धारा प्रतिवेदन प्रस्तुत

अर्घाखाँची : अर्घाखाँचीको नरपानीमा गत मंसिर ११ गते १८ जनाको ज्यान जाने गरी भएको बस दुर्घटनाको मुख्य कारण तीव्र गति र चालकको हतारो भएको छानविन समितिले निश्कर्ष निकालेको छ । दुर्घटनापश्चात अर्घाखाँचीका सहायक प्रमुख जिल्ला अधिकारी विष्णुराज बेल्बासेको संयोजकत्वमा गठित छानविन समितिले यस्तो निश्कर्ष निकालेको हो ।

दुर्घघटना स्थलको अवलोकन र अन्य सम्बन्धित पक्षसँगको अध्ययन गर्दा मोडमा तीव्र गतिको कारण चालकले गाडी नियन्त्रणमा राख्न नसक्दा दुर्घटना भएको छानविन समितिका सदस्य गणेश खनालले जानकारी दिए । अगाडिका यात्रुलाई भेट्ने हतारोमा बस भन्दा अगाडि रहेको ट्रकलाई ओभरटेक गर्दा बस दुर्घटना भएको बयान प्रत्यक्षदर्शीले छानविन समितिलाई दिएका छन् ।

चालकले बोनटमा बसेकी महिलासँग कुराकानी गर्दै आएका र दुई घण्टा जति बाटोमा बस रोकेका कारण बुटवल पुग्न हतारो गर्दै गाडी तीव्र गतिमा गुडाइएको प्रतिवेदनमा उल्लेख छ । अर्को दिनको बस चलाउने पालोका लागि नम्बर लिन बुटवल छिटो पुग्नुपर्ने हतारो चालकलाई भएको प्रतिवेदनमा उल्लेख छ ।

दुर्घटना हुनुअघि घुम्ती भन्ने स्थानमा चालक समेत परिवर्तन भएको छानविन समितिले पत्ता लगाएको छ । सडकको जियोमेट्रिक्स मिलेको देखिएकोले दुर्घटना सडकका कारण नभएको प्रतिवेदनमा उल्लेद गरीएको छ । गाडीको टाइरड, टायर र पट्टाको भाग दुरुस्त रहेको हुँदा यान्त्रिक गडबडीका कारण नभइ चालककै लापरबाहीका कारण दुर्घटना हुन पुगेको प्रतिवेदनले ठहर गरेको छ । छानविन समितिले दुर्घटनाका घाइते, स्थानीय प्रत्यक्षदर्शी, स्थानीय जनप्रतिनिधि, प्रहरी, यातायात व्यवसायी लगायत सरोकारवाला सबै पक्षसँग दुर्घटनाबारे २१ दिन समय लगाएर छानविन गरेको थियो ।

सन्धिखर्कबाट बुटबल आउंँदै गरेको लु। २ ख २१४८ नम्बरको बस सन्धिखर्क नगरपालिका वडा नं। ६ नरपानी नजिकै सल्लेरी रातामाटामा दुर्घटना हुँदा १७ जनाको घटनास्थलमै र एक जनाको उपचारको क्रममा ज्यान गएको थियो । तीव्र गतिको कारण बस सडकको देव्रे साइडको नाली तिर गएको र पुनः दायाँ साइड काट्दा रोक्न नसकी सिधै भिरबाट खसेको दुर्घटनाका घाइतेले जानकारी दिएको प्रतिवेदनमा उल्लेख छ । दुर्घटनामा परेको बस किनेको दुइ वर्ष मात्र भएको थियो ।