ज्यान मुद्दाका फरार अभियुक्त ३२ वर्षपछि पक्राउ

ज्यान मुद्दाका फरार अभियुक्त ३२ वर्षपछि पक्राउ

सिरहा : सिरहामा एक नाबालिकासहित तीनजनाको हत्या गरेको अभियोगमा अदालतबाट ३० वर्ष कैद सजाय पाएर फरार रहेका एक वृद्धलाई प्रहरीले ३२ वर्षपछि पक्राउ गरेको छ ।

अर्नमा गाउँपालिका–५ (तत्कालीन सिरहा कृष्णपुर गाविस–८) का जगदेव यादवको छोरा रामनाथ यादव र रामचन्द्र यादवको हत्या आरोपमा १० र उनकी ६ महिनाकी नातिनीको हत्या आरोपमा २० वर्ष गरी ३० वर्षको कैद सजाय पाएर फरार रहेका सिरहा नगरपालिका–२० लगडीगडियानी का ६८ वर्षीय हिरवा सहनीलाई प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको टोलीले आफ्नै घरमा लुकीछिपी बसिरहेको अवस्थामा सहनीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक अपिलराज बोहराले जानकारी दिए ।

विसं २०४४ पुस १३ गते अर्नमा गाउँपालिका–५ स्थित आफ्नै घरमा रहेका रामनाथ यादव र रामचन्द्र यादवलाई गोली हानी हत्या गरेको तथा सिरहा नगरपालिका–१९ स्थित गागन खोलामा ६ महिनाकी नातिनीको हत्या गरेको भन्दै मृतकका बुबा जगदेव यादवले जिल्ला अदालत सिरहामा सहनीविरुद्ध कर्तव्य ज्यान मुद्दा दायर गरेका थिए ।

सो मुद्दामा सुनुवाइ गर्दै जिल्ला अदालत सिरहाले सो घटनामा दोषी ठहर गर्दै सहनीलाई दुवै दाजुभाइको हत्या अभियोगमा १० वर्ष र नबालिकाको हत्या अभियोगमा २० वर्ष गरी ३० वर्ष कैद सजायको फैसला भएको प्रवक्ता बोहराले बताए ।