नेपालमा नै बन्यो कोदो कुट्ने मेसिन

नेपालमा नै बन्यो कोदो कुट्ने मेसिन

पर्वत : पर्वतमा युवाले कृषि क्षेत्रमा सहयोग पुग्ने गरी मसिनरी कृषि औजार तयार पारेका छन्। कृषिमा आधुनिकरणका उपकरणहरुको माग बढ्दै जाँदा पर्वतको कुस्मा नगरपालिका १२ ठूलीपोखरी टुटुंगा घर भएका बाबुराम विश्वकर्माले कोदो झार्न उपयोगी हुने मसिन तयार पारेका हुन् ।

घरको आर्थिक अवस्था कमजोर भएकोले जसोतसो जीवन चलाइरहेका उनले झन्डै ५० हजारको लगानीमा मेसिन तयार पारेका हुन्। ‘गरे सम्भव हुने रहेछ, बनाउन सक्छु भन्ने आँट बोकेर प्रयास गरेको बिश्वकर्माले बनाएको मेसिनले कोदो झारेको छ। यसलाई परिमार्जन गर्दै अझै विकसित रूप दिन सक्ने हो भने कृषि क्षेत्रका लागि यो मेसिन महत्वपूर्ण औजार बन्न सक्छ।’ उमेरले २८ वर्ष पुगेका बाबुरामको योग्यता भने एसएलसी सम्म मात्रै रहेको छ ।

उच्च शिक्षा अध्ययन गर्ने चाहना भए पनि घरको कमजोर आर्थिक अवस्थाका कारण दैनिकी चलाउन समेत मुस्किल भएकाले उनले अध्ययनलाई अगाडि बढाउन नसकेका हुन्। मेसिनरी तथा इलेक्ट्रोनिक्स औजारहरूमा बढी चासो राख्ने तथा सानै उमेरदेखि हाउस वायरिङ, घडी रेडियोको मर्मत लगायतका कामहरू पनि गर्दै आएका विश्वकर्मा त्यसैमा तल्लीन रहे र कोदो झार्ने मसिनको सफल परीक्षण पनि गरे।

झन्डै एक महिनासम्म लगातार गरेको मिहिनेतबाट मसिन तयार पार्न सकेको र त्यसमा स्थानीय ठाउँमा पाइने काठ तथा फलामका सामग्रीहरू जोडेर विद्युतीय मोटरको प्रयोग भएको विश्वकर्माले बताए । विद्युतबाट चल्ने उक्त मेसिनले १ घण्टामा ६ मुरीसम्म कोदो झार्न सक्ने कार्यक्षमता रहेको छ। अहिले कोदो झार्ने मसिन बनाएको भए पनि अबको आप्mनो प्रयास कोदोको दाना र भुसलाई छुट्टाउन सक्ने मसिन निर्माण गर्नु रहेको उनले बताएका छन्।