चिनियाँ नागरिकले भरिए काठमाडौंका प्रहरी हिरासत

चिनियाँ नागरिकले भरिए काठमाडौंका प्रहरी हिरासत

काठमाडौं : काठमाडौंका प्रहरी हिरासतहरू चिनियाँ नागरिकले भरिएका छन् । एउटा प्रहरी इकाइको हिरासतमा अभियुक्त नअटाएपछि उपत्यकाका विभिन्न कार्यालयमा राखिएका छन् ।

केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) र महानगरीय प्रहरी आयुक्तको कार्यालय, रानीपोखरी मातहतका विभिन्न इकाईको समन्वयमा सोमबार भएको अपरेसनमा १२२ चिनियाँ नागरिक पक्राउ परेका थिए । पक्राउ परेकामध्ये ८४ जनामाथि महानगरीय प्रहरी परिसर, काठमाडौंबाट अनुसन्धान र अभियोजन हुँदैछ । तर काठमाडौं प्रहरीको हिरासतमा पहिल्यै ८३ जना नेपाली अभियुक्त भएकाले ३४ जना चिनियाँ नागरिकमात्रै अटाएका छन् ।

काठमाडौं प्रहरीको मुद्दा शाखाका डीएसपी कृष्ण चन्दका अनुसार अभियुक्त नअटेपछि सिंहदरबार, सोह्रखुट्टे, बालाजुलगायतका स्थानमा रहेका प्रहरी वृत्तमा पठाइएको हो । महानगरीय प्रहरी प्रभाग, बूढानीलकण्ठमा ११ र महानगरीय प्रहरी वृत्त, महाराजगञ्जमा २७ जना चिनियाँ राखिएका छन् ।

नेपालमा बसेर चीनमा साइबर अपराध गरेको देखिएपछि चिनियाँ दूतावासकै सहकार्यमा प्रहरीले विदेशी नागरिकमाथि हालसम्मकै ठूलो अपरेसन चलाएको हो ।पक्राउ परेका सबै चिनियाँमाथि अभद्र व्यवहारको कसुरमा म्याद थप गरेर अनुसन्धान थाल्ने प्रहरीले बताएको छ । मंगलबारबाटै अनुवादक बोलाएर बयान लिन थाल्ने पनि तयारी गरिएको छ ।