अलैंचीबाट यो वर्ष लमजुङका किसानको दोब्बर कमाई

अलैंचीबाट यो वर्ष लमजुङका किसानको दोब्बर कमाई

लमजुङ : लमजुङका किसानहरुले अलैंचीको दाना बेचेर दोब्बर आम्दानी गरेका छन्।अलैंची खेतीमा संलग्न कृषकहरुले अघिल्लो वर्षको तुलनामा यो वर्ष चार करोड पाँच लाख रुपैयाँभन्दा बढी आम्दानी गरेका हुन्।

अघिल्लो वर्ष जिल्लाका किसानहरुले ७५० क्विन्टल अलैंची बचेर पाँच करोड २५ लाख रुपैयाँ आम्दानी गरेका थिए। यो वर्ष दुई हजार क्विन्टल अलैंची बेचेको र अघिल्लो वर्षभन्दा थप चार करोड पाँच लाख रुपैयाँ आम्दानी भएको किसानहरुले जानकारी दिएका छन्।

दोर्दी गाउँपालिका–८ खिम्चोकका कृषक मनबहादुर तामाङले जिल्लामा यसवर्ष सबैभन्दा बढी आठ क्विन्टल अलैँची उत्पादन गरेका छन्। राम्रो आम्दानी गर्न नसकेपछि केही वर्षअघि अलैँची व्यवसायमा हौसिएका कृषकले निराश भइरहेका थिए। तर यसपटक उत्पादन र बिक्रीमा समस्या नभएपछि किसानमा आशा जागेको तामाङले बताए।

नेपाल अलैँची व्यवसायी महासङ्घ गण्डकी प्रदेश संयोजक अजय तामाङले उत्पादन बढ्दा आम्दानीसमेत वृद्धि भएको जानकारी दिए। लमजुङका अलैंची किसानले कुनै बेला प्रतिकिलो दुई हजार २०० रुपैयाँका दरले अलैंची बेचेपनि अहिले मूल्य निकै घटेको छ।

यस वर्ष प्रतिकिलो ६०० रुपैयाँका दरले अलैँची बिक्री भएको छ। कृषकले अलैंचीको भाउ प्रतिकलो घटीमा एक हजार रुपैयाँ कायम हुनुपर्ने माग राख्दै आएका छन्। तर हाल कम मूल्यमै उत्पादन बेच्न बाध्य भएको किसानको गुनासो छ। लमजुङमा एक हजार ५० हेक्टर क्षेत्रफलमा अलैँची खेती गरिएको छ भने हाल ६५० हेक्टर क्षेत्रफलमा उत्पादन गरिँदै आएको छ।