खिजीदेम्बा विमानस्थलमा सफलतापुर्वक परिक्षण उडान

खिजीदेम्बा विमानस्थलमा सफलतापुर्वक परिक्षण उडान

ओखलढुङ्गा : जिल्लाको खिजीचण्डेश्वरीमा निर्माण गरिएको नयाँ विमानस्थलमा सफलतापूर्वक परीक्षण उडान भरिएको छ। पर्यटनमन्त्री योगेश भट्टराईसहित जिल्लाका नेताहरु सवार जहाज सोमबार बिहान साढे १० बजे विमानस्थलमा अवतरण गरेको हो।

ओखलढुंगाको सुन्दर ठाउँ खिजीदेम्बा विमानस्थलमा सफलतापुर्वक परिक्षण उडान गरेपछि मन्त्री भट्टराईले आवश्यक प्राविधिक तयारी गरी छिट्टै नियमित उडान व्यवस्था मिलाउने जानकारी दिएका छन्। विमानस्थलमा उडान परीक्षण सफल भएसँगै रामेछाप, सोलु र ओखलढुंगाका आधादर्जन स्थानीयतहका सर्वसाधारण प्रफुल्ल भएका छन्‌।

छिट्टै कालोपत्रे गरी नियमित हवाइ उडान व्यवस्था मिलाउन स्थानीयले मन्त्री भट्टराई र सरोकारवालाहरुसँग माग राखेका छन्। खिजी देम्वा गाउँपालिकाका अध्यक्ष बेदबहादुर रोकाले पोकली, गौरीवन, खिजीफलाटे, थोलेदेम्वदेखि सोलुको पिकेसम्म नयाँ पर्यटकीय पदमार्ग निर्माण गर्न सरकारलाई सुझाएका छन्।

ओखलढुंगाका उत्तर–पश्चिमी भेगमा पर्ने खिजीदेम्बा गाउँपालिका, सोलुखुम्बुको लिखुपिके गाउँपालिका र रामेछाप जिल्लाका उमाकुण्ड र लिखु तामाकोशी गाउँपालिकाका नागरिकहरु समेत प्रत्यक्ष लाभान्वित हुनेछन् ।

अहिले सो भेगबाट शहरी क्षेत्रमा पुग्न कच्ची बाटो हुँदै गाडीमा १५ देखी १८ घण्टासम्म यात्रा गर्नुपर्ने बाध्यता रहेको छ। विमानस्थलमा नियमित उडान भए कच्ची बाटोमा जोखिमपूर्ण सवारी यात्रा गर्नुपर्ने बाध्यतासमेत हट्नेछ। हवाई मैदानको निर्माण कार्य सम्पन्न भएसँगै गत हप्ता परीक्षण उडान गर्न स्थलगत अनुगमन गरिएको थियो।