नक्कली घिउ कारखानाका ३ जना पक्राउ

नक्कली घिउ कारखानाका ३ जना पक्राउ

वीरगञ्ज : वीरगन्जमा नक्कली घिउ उद्योग फेला परेको छ ।रसायन प्रयोग गरेर घिउ उत्पादन गर्ने उपभोक्ताको स्वास्थ्यमाथि खेलबाड गर्दै घिउ नक्कली घिउ उद्योग फेला परेको हो । नक्कली घिउ उत्पादनमा संलग्न ३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

विशेष सूचनाका आधारमा वीरगञ्ज महानगरपालिका–१५, ब्रह्मचोकमा रहेको सिद्धिविनायक पूजा सामग्री प्रोडक्टस उद्योगले विभिन्न रसायन प्रयोग गरेर नक्कली घिउ उत्पादन गरेर बिक्री बितरण गर्दै गर्दा प्रहरीले नियन्त्रणमा लिएको हो ।

एसपी राठौरका अनुसार, त्यसरी उत्पादित घिउमा पूजा, दुर्गा र गोकुल शुद्ध घिउको स्टिकर लगाएर बजारमा पठाउने गरेको भेटिएको छ । घिउमा कुन रसायन प्रयोग हुँदै आएको थियो भन्ने खुलेको छैन । पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका–१५ का अनील श्रेष्ठ, सोही स्थानका रमेश श्रेष्ठ र भारत मोतिहारी पूर्वी चम्पारण थाना आदापुर ग्राम पोखरिया–१ बस्ने राम विलास यादवलाई प्रहरीले पक्रेको हो ।

पक्राउ परेका तीनै जनामाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, पर्साले जनाएको छ । नक्कली घिउ बनाउन प्रयोग हुने २९ कार्टुन डाल्डा घिउ र बजार पठाउन तयार पारेर राखिएको ५२ कार्टुन नक्कली घिउ पनि प्रहरीले बरामद गरेको छ । नक्कली घिउ बनाउन प्रयोग गरिँदै आएको भाँडाकुँडा, रसायन र लेबलिङका लागि राखिएका स्टिकर पनि प्रहरीले बरामद गरेको एसपी राठौरले जानकारी दिए ।