आइतबारबाट राजा वीरेन्द्रको निजी निवास सर्वसाधारणले अवलोकन गर्न पाउने

आइतबारबाट राजा वीरेन्द्रको निजी निवास सर्वसाधारणले अवलोकन गर्न पाउने

काठमाडौं । तत्कालीन राजा वीरेन्द्र शाहको निजी निवास ‘श्रीसदन’ आइतबारबाट नागरिकका लागि खुला हुने भएको छ । आज दिउसो संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेशकुमार भट्टराईले नारायणहिटी दरबारभित्रको श्रीसदन सर्वसाधारणका लागि खुला गरिएको औपचारिक शुभारम्भ गर्ने कार्यक्रम रहेको छ ।

आइतबारदेखि नारायणहिटी दरबार सङ्ग्रहालयमा आएका अवलोकनकर्ताले श्रीसदनका साथै ग्यारेज र गणतन्त्र स्मारकसमेत अवलोकन गर्न पाउने व्यवस्था मिलाइएको छ । कोरोना भाइरसका कारण लकडाउन सुरु भएलगत्तै नारायणहिटी दरबार संग्रहालय अवलोकनका लागि बन्द गरिएको थियो ।

आइतबारबाटै संग्राहालय पुनः खुला गरिँदै छ । सन् १९३९ मा तत्कालीन राजा त्रिभुवनलाई हिटलरले उपहारस्वरूप दिएको गाडी पनि सर्वसाधारणका लागि खुला गरिने भएको छ । हवाईजहाज र हेलिकप्टरसमेत प्रदर्शनीमा राखिने भएको छ । एउटै टिकटबाट नयाँ खुला हुने स्थान पनि अवलोकन गर्न पाइनेछ ।

श्रीसदनको तीनतले भवनको भुुइँतलामा तत्कालीन राजा वीरेन्द्र र ऐश्वर्यको निजी कार्यालय, भान्सा र विश्राम गर्ने कोठा रहेको छ । पहिलो तलामा राजा वीरेन्द्रको शयन कक्ष, रानी ऐश्वर्यको कक्ष र लुगा राख्ने कक्ष छ । दोस्रो तलामा तत्कालीन अधिराजकुमार नीराजनको कक्ष र तत्कालीन अधिराजकुमारी श्रुतिको कक्ष छ ।

तत्कालीन राजा वीरेन्द्रले आफ्नो डिजाइनमा २०२३ सालमा सो भवन तयार गर्न लगाएका थिए । श्री सदन निवास दरबार हत्याकाण्डअघि तत्कालीन राजा वीरेन्द्र, रानी ऐश्वर्य र अधिराजकुमार नीराजन शाहको निजी निवासको रुपमा प्रयोगमा थियो ।