काठमाडौं। अविरल वर्षासँगै आएको बाढी र पहिरोका कारण देशभरका विभिन्न प्रमुख राजमार्ग तथा सडक खण्डहरू प्रभावित बनेका छन्। नेपाल प्रहरीले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार पहिरोका कारण देशका विभिन्न स्थानमा सडक पूर्ण रूपमा अवरुद्ध भएका छन् भने केही स्थानमा एकतर्फी रूपमा मात्र यातायात सञ्चालनमा आएका छन्।
रसुवा जिल्लामा आएको बाढीका कारण भदौ १० गते बिहानदेखि मुख्य राजमार्गहरू पूर्ण रूपमा अवरुद्ध बनेका छन्। प्रहरीका अनुसार अर्को सूचना जारी नभएसम्मका लागि उक्त सडक खण्डहरू बन्द रहनेछन्।
त्यसैगरी, म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ स्थित बैसरीमा पहिरो खस्दा बेनी–जोमसोम सडक खण्ड पूर्ण रूपमा अवरुद्ध बनेको छ। सडकमा खसेको पहिरो हटाएर यातायात सुचारु गराउने प्रयास भइरहेको प्रहरीले जनाएको छ।
यस्तै, कालीगण्डकी कोरिडोरअन्तर्गत नवलपुरको बौदीकाली गाउँपालिका–३ स्थित जन्ती पहिरोमा खसेको पहिरोले सडक प्रभावित भएको छ। त्यहाँ पहिरो पन्छाएर सडक एकतर्फी रूपमा सञ्चालनमा ल्याइएको प्रहरीले जनाएको छ।