माटोको ढिस्कोले पुरिएर २ मजदुरको मृत्यु, एकजना गम्भीर

माटोको ढिस्कोले पुरिएर २ मजदुरको मृत्यु, एकजना गम्भीर

बागलुङ ।  बागलुङको निसीखोला गाउँपालिका–३ बोहरागाउँमा माटोको ढिस्कामा पुरिएका दुईको मृत्यु भएको छ। एकजनाको घाइते अवस्थामा उद्धार गरिएको छ।

सडक निर्माणका क्रममा अचानक माटोको ढिस्को खस्दा तीन जना मजदुर पुरिएका थिए। जसमध्ये दुई जनाको मृत्यु भएको छ भने अर्का एक मजदुरको घाइते अवस्थामा उद्धार गरिएको प्रहरीले जनाएको छ। 

सोमबार बिहान करिब ७ः३० बजेको समयमा काप्रा–बोहरागाउँ–छापाखानी प्यूठान सडकखण्ड निर्माणका क्रममा काम गरिरहेका सल्यानका २८ वर्षीय लालबहादुर बुढाथोकी र उदयपुर गाईघाटका ३२ वर्षीय राजु थापाको माटोको ढिस्कोमा पुरिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक फडिन्द्र प्रसाईँले जानकारी दिए। 

पुरिएकामध्ये दुई जनाको उद्धार गर्ने क्रममा घटनास्थलमा नै मृत्यु भएको हो। रोल्पाका कृष्ण घर्ती मगरलाई गम्भीर घाइते अवस्थामा उद्धार गरी अस्पताल लगिएको छ। 

उनलाई उपचारका लागि प्रादेशिक अस्पताल बुर्तिबाङ लगिएको निसीखोला गाउँपालिका–३ का वडाअध्यक्ष रमेशविक्रम शाहीले जानकारी दिए।

चालक भद्र मल्लले चलाएको  लु१क ३४४६ नम्बरको जेसिबीले बाटो स्तरोन्नति गर्ने क्रममा अचानक माटोको ढिस्को खस्दा काम गरिरहेका मजदुर पुरिएका हुन्। 

छुटाउनुभयो कि ?