रसुवा। गत भदौ १० गतेको विनाशकारी भोटेकोशी बाढीका कारण रसुवाका तीन सरकारी र एक निजी विद्यालयका गरी ४५ जना विद्यार्थी अझै सम्पर्कविहीन रहेका छन्।
शिक्षा तथा समन्वय इकाइ धुन्चेका प्रमुख दुर्गाप्रसाद सिलवालका अनुसार बाढीका कारण जिल्लाका चारवटा विद्यालय भवन पूर्ण रूपमा ध्वस्त भएका छन्।
बाढीले क्षति पुर्याएका विद्यालयहरूमा नेपाल राष्ट्रिय आधारभूत विद्यालय टिमुरे, मालिकादेवी आधारभूत विद्यालय पैरेबेँसी, चिप्लेटी आधारभूत विद्यालय र मोडर्न ट्रिनिटी इङ्लिस बोर्डिङ स्कुल रहेका छन्।
सम्पर्कविहीन रहेका विद्यार्थीहरूमा नेपाल राष्ट्रिय आधारभूत विद्यालय टिमुरेका २५ जना, मालिकादेवी आधारभूत विद्यालयका ११ जना, मोडर्न ट्रिनिटीका आठ जना र चिप्लेटी आधारभूत विद्यालयका एक जना रहेको इकाइ प्रमुख सिलवालले जानकारी दिए।
बाढीबाट प्रभावित भएका अन्य विद्यार्थीहरूको पठनपाठन अवरुद्ध हुन नदिन वैकल्पिक व्यवस्था मिलाइएको छ। जसअनुसार चिप्लेटीका विद्यार्थीलाई डाँडागाउँ र ठूलोगाउँका विद्यालयमा पठाइएको छ। यस्तै, मालिकादेवी आधारभूत विद्यालयका विद्यार्थीलाई नवविजयी मावि भलायडाँडा र ट्रिनिटीका विद्यार्थीलाई नीलकण्ठ माविमा आवासीय सुविधासहित पठनपाठनको प्रबन्ध मिलाइएको छ।
विनाशकारी बाढीका कारण गोसाइँकुण्ड, आमाछोदिङ्मो, उत्तरगया र कालिका गाउँपालिकाका विद्यालयहरू पूर्ण रूपमा बन्द भएका थिए। नौकुण्ड गाउँपालिकामा भने गत भदौ ११ गतेदेखि नै पठनपाठन नियमित रूपमा सञ्चालन भइरहेको छ।