ओलीका खेल– अरूमा पासैपास, एउटा कुरामा जहिल्यै फेल !

ओलीका खेल– अरूमा पासैपास, एउटा कुरामा जहिल्यै फेल !

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले पूर्व एमालेहरू एकजुट हुनुपर्ने भन्दै पुन: वरिष्ठ नेता माधवकुमार नेपाललाई फकाउने गृहकार्य थालेका छन् ।

यसक्रममा नेपाललाई मंगलवार बालुवाटार बोलएर झण्डै ३ घण्टा भेटेका ओलीले पूर्व एमालेहरू एकजुट हुनुपर्ने बताएका थिए । यसक्रममा ओलीले नेपाललाई विभिन्न अफर समेत दिएको स्रोतका दाबी छ ।

पार्टीमा जबजब अप्ठ्यारो पर्छ, ओलीले तबतब नेता नेपालको साथ खोज्ने गरेका छन् । यद्यपि नेपालले भने ओलीलाई विश्वास गर्दैनन् ।

'जबजब उहाँलाई अप्ठ्यारो पर्छ, तबतब सम्झिने हो, नत्र उहाँलाई हामीले नचिनेको हो र ?' माधव नेपालपक्षीय एक नेताले भने ।

स्रोतका अनुसार म‌ंगलवारको भेटमा ओलीले माधव नेपाललाई तपाईं मलाई भेट्नै खोज्नुहुन्न भन्ने गुनासो गरेका थिए ।

जवाफमा नेपालले नबोलाइकन लुखुरलुखुर हिँड्ने बानी आफ्नो नरहेको बताएको नेपाल निकट स्रोतले जानकारी दियो ।

पार्टीका हरेक मोर्चामा लडाईं जित्दै आएका ओलीले नेता नेपाललाई फकाउने प्रयासमा भने कहिल्यै जीत हासिल गर्न सकेका छैनन् । त्यसको कारण स्वयं‌ ओलीकै व्यवहार रहेको नेपाल पक्षीय नेतहरू बताउँछन् ।

अनि चाहियो माधव नेपालको साथ

पार्टी विवादको निकै लामो र कठीन मोड पार गरेका प्रधानमन्त्री ओलीलाई यसपटक कर्णाली प्रदेशमा ब्रेक लाग्यो ।

ओलीपक्षीय नेता यामलाल कंडेलको नेतृत्वमा १८ जना सांसदले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध संसदीय दलमा अविश्वासको प्रस्ताव दर्ता गरे ।

शुरूमा माधव नेपाल पक्षको पनि साथ लिएका कंडेल र ओलीपक्ष त्यतिबेला झस्कियो जतिबेला माधव नेपाल पक्षले यू-टर्न लिँदै हस्ताक्षर फिर्ता लियो ।

माधव नेपाल पक्षीय ७ सांसदले हस्ताक्षर फिर्ता लिएपछि कंडेलपक्ष अल्पमतमा पर्‍यो ।

यही मौकामा मुख्यमन्त्री शाहीले ओली पक्षबाट प्रतिनिधित्व गर्ने प्रमुख सचेतक गुलावजंग शाहलाई हटाएर नयाँ प्रमुख सचेतक चुने ।

माधव नेपालपक्ष यू-टर्न हुनुको खास कारण केन्द्रबाटै गएको सिग्नल थियो ।

आफ्नो पक्षका मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव ल्याइएपछि अध्यक्ष प्रचण्डले नेता नेपालसँग भेटेर कुरा गरे । 

ओलीविरुद्ध संघको मोर्चामा हारेको प्रचण्ड-नेपाल खेमाले कर्णालीमा भने ओलीलाई टक्कर दिने सहमति गरे ।

त्यसलगत्तै नेता नेपालले आफूपक्षीय नेताहरूलाई कुनै विग्रहमा नलाग्न भनेको स्रोतको दाबी छ ।

ओलीको खेल : अरूमा पासैपास, यसमा जहिल्यै फेल !

तत्कालीन नेकपा एमालेको अध्यक्ष बनेयता र हाल नेकपामा पनि अध्यक्ष ओलीले जे चाह्यो त्यही भइरहेकै छ ।

उनले कहिले आफ्ना विपक्षीलाई भित्तामा पुग्ने गरी धक्का दिएका छन् भने आफूलाई चाहिँदा विश्वासमा लिएका पनि छन् ।

यस हिसाबले हेर्दा आफ्नो स्वार्थको हरेक मोर्चामा ओली सफल भइरहेकै देखिन्छ ।

तर, एउटा कुरामा चाहिँ ओली कहिल्यै सफल हुन सकेनन्, त्यो हो माधव नेपालको विश्वास लिने कुरा ।

अघिल्लो विवादमा पनि ओलीले नेता नेपाललाई फकाउन भरमग्दुर प्रयास गरेका थिए, तर सफल भएनन् ।

अन्तत: प्रचण्डसँगै मिल्नुको विकल्प रहेन । त्यतिबेला बालुवाटार कुरा चलेको थियो– 'प्रचण्डलाई नै फकाउन सजिलो !'

यसपटक पनि माधव नेपाललाई फकाउने ओलीको रणनीति त्यति सफल हुने देखिएको छैन । उनी सफल होलान् कि नहोलान्, पूरा चित्र भने भविष्यकै गर्भमा छ ।