काठमाडौं। नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले प्रधानमन्त्री बालेन्द्र शाहको पछिल्लो अभिव्यक्तिप्रति सकारात्मक प्रतिक्रिया दिएका छन्। कांग्रेसको १५औँ महाधिवेशनको बन्दसत्रमा राजनीतिक प्रतिवेदन पेस गर्दै उपसभापति शर्माले प्रधानमन्त्री शाहको भनाइलाई लोकतान्त्रिक अभ्यास र अभिव्यक्ति स्वतन्त्रताकै रूपमा लिनुपर्ने बताए।
“प्रधानमन्त्रीले हिजो केही लेख्नुभएको रहेछ। उहाँको अभिव्यक्ति स्वतन्त्रताको म सम्मान गर्छु,” बन्दसत्रलाई सम्बोधन गर्दै शर्माले भने, “नेपाली कांग्रेसले लडेर ल्याएको लोकतन्त्रमा सबै नागरिक तथा नेतृत्वलाई आफ्ना विचार राख्ने पूर्ण स्वतन्त्रता छ।”
उनले लोकतन्त्रको सुन्दरता नै विचार अभिव्यक्त गर्न पाउनु रहेको भन्दै यसको वास्तविक परीक्षण भने बोलीमा नभई व्यवहारमा देखिनुपर्ने धारणा व्यक्त गरे।
यसअघि प्रधानमन्त्री बालेन्द्र शाहले कांग्रेस महाधिवेशनलाई लक्षित गर्दै सामाजिक सञ्जालमा ‘धन्न खुलामञ्च बनाइएको थियो, त्यहाँ गएर नेताहरूले गाली गर्न पाए’ भन्ने आशयको व्यङ्ग्यात्मक स्टाटस लेखेका थिए। सोही अभिव्यक्तिलाई लिएर उपसभापति शर्माले बन्दसत्रको मञ्चबाट सौहार्दपूर्ण तरिकाले जवाफ दिएका हुन्।