आमा ! किन हाँस्नुभएको ?

आमा ! किन हाँस्नुभएको ?

करिब ३ वर्ष अघि मलेसिया गएको रमेश खबरै नगरी घर आउँदा गाउँभरि हल्ला भएछ । स्कुलनजिक भुमिनन्दन दाइसँग भेट भएर सँगै आएका थिए रमेश । भुमिनन्दन दाइ रमेशको मिल्नेसाथी,सारै असल मान्छे अनि मलाई “बैनी” भनेर बोलाउनु हुन्छ ।

बिहानको त्यस्तै ८ बज्दो हो, सधैं  झैं ठट्टा गर्दै छिमेकी चुडाल बा 'हैन कहाँबाट भुमिनन्दन बाबु हलुवामा बालुवा हुन आइ पुग्नु भएछ हँ !' भन्दै आइ पुग्नु’भो । भेट गर्नै भनेर होला जानुका दिदी,कृष्ण सेडांई भिनाजु, पौडेल्नी माल्दिदी र खड्का काका पनि एकै छिनमा भेला हुनु भो हाम्रो घरमा । रमेशले मलेसिया जाने बेलामा उहाँहरुलाई नै मेरो रेखदेखको जिम्मा लाएर गएका थिए ।

कुराकानी कै क्रममा रमेशले मलेसियामा भने बमोजिमको काम नपाइने, पाए पनि तलव कम दिने, लुटेराहरुबाट लुटिने र ज्यानै समेत जान सक्नेजस्ता आफूले भोगेका समस्याहरु बताए। अनि अब विदेश नजाने, यसो सानोतिनो पसल गर्ने र छोरीलाई वोर्डिडं हाल्नेजस्ता आफ्ना साना योजना सुनाए। रमेशको निर्णयले सबैजना खुसी भए । 'अब त देशमा स्थिर सरकार छ, यदि चाह्यो भने विदेशिएका युवा यूवतीहरुलाई फर्काउने वातावरण बनाउन सक्छ' भनी सेडाईं भिनाजुले आफ्नो तर्कदिनुभो। उहाँ राजनीतिमा निक्कै दख्खल राख्नु हुन्छ ।' खै हाम्रा केटाहरु कहिले आउने हुन्'भन्दै लामो सुस्केरा हाल्नु भो पौडेल्नी माल्दिदीले ।

रमेशले विदेशबाट ल्याएका चकलेट सबैका हातमा राखिदिए । पौडेल्नी माल्दिदीले नातीलाई लगिदिने भनेर गाम्छाको छेउमा बाँध्नु भो’ । ल अब स्कुल जान ढिला हुन्छ भनेर भुमिनन्दन दाइले विदा मागेपछि सबैजना आ-आफ्नो घर तिर लाग्नु भो । भुमिनन्दन दाइ स्कुलको हेडसर हुनुहुन्छ ।

मैले पनि उहाँहरुसँग कुरा गर्दा गर्दै भात पकाइ सकेकी थिएँ । खाना खाएर बुढाबुढी बजार जाने सल्लाह भो‘ ।लोग्ने मान्छेको मन न हो कोठा भित्र लुगा फेर्न पस्ने बित्तिकै रमेशले 'त्यस्तो पापी ठाउँबाट धन्न बाँचेर आइयो, अब तिमीलाई छाडेर कहिं पनि जान्न सानु' भन्दै मलाई अँगालोमा बेरे । मैले पनि ३ वर्षदेखि प्रतिक्षा गरेको न्यानो अँगालो आँखा चिम्म गरेर स्विकार गरें ।

बजार जाँदा बाटोमा पर्ने खोला तर्दा रमेशले एक हातले पाइन्ट र चप्पल अफ्ठ्यारो गरी समाते । अनि अर्को हातले अलि रोमान्टिक हुँदै खोलाको पानी उघाएर मेरो जिउ भित्र हालि दिए ।
'आच्छु।। के गरेको  ?' भन्दै मैले पनि रमेशलाई पानी छ्यापिदिएँ । अनि हामी दुवै एकै छिन मरी-मरी हाँस्यौं ।

यसै बेला छोरी वालाले 'आमा किन हाँस्नु भा’को ?' भनेर घचघच्याउँदा पो म झल्याँस्स बिउँझिएँ । यतिन्जेलसम्मका रमेशसँगका खुसीका पलहरु त सबै सपना पो रहेछन् । मेरो रमेश त २ महिना अघिमात्र मलेसियाबाट काठको बाकसमा फिर्ता आएको थियो, अनि यिनै हातले सदाको लागि बिदा गरेकी थिएँ ।

आकाश खसेजस्तो अनि मुटु फुट्ला जस्तो भो’ । म के नै पो गर्न सक्थें र भर्खरै सपनामा रमेशले बेरेझैं सँगै सुतेकी छोरी वालालाई अँगालो हालेर धेरै बेर रोएँ ।

अनि सम्झे, मजस्तै दिदी बैनीहरु अझै कति विधवा हुने हुन्, मेरी वालाजस्तै कति छोरा छोरीहरु टुहुरा हुने हुन्, अनि अझै कति बृध्द बुबाआमाहरुको काख रित्तिने हो ? साथै मनमनै ईश्वरसँग प्राथना गरें । हे भगवान, अघि सपनामा कृष्ण भिनाजुले भनेजस्तै सम्पूर्ण विदेशिएका युवा युवतीहरुलाई सरकारले स्वदेश बोलाउने वातावरण मिलाओस् ।

उज्यालो भैसकेको थियो । ढोका खोलेर यसो बाहिर हेरें अनि आफूलाई पनि । केही दिन देखि नधोएका मेरा सेता अनि मैला लुगा, धेरै दिनदेखि कोही नआएको उराठ लाग्दो आँगन । आँगनको पल्लो छेउमा भएको अगेनामा रातभरी बसेको कुकुर उठ्यो, थरर्र काम्दै जिउभरी लागेको खरानी टक्टकायो । खरानी माथिसम्म उड्यो । मन मनै सम्झे 'मेरो जीवन पनि त्यही खरानीजस्तै भयो नि ?' यतिकैमा छोरी वाला पनि उठिछ। बाहिर आएर मेरो हात तान्दै भनी 'आमा ! आमा ! भोक लागो ।'