काठमाडौँ । काठमाडौँ महानगरपालिका-१२ टेकुस्थित ऋषेश्वर महादेव मन्दिरमा आज बिहानदेखि विशेषगरी महिला भक्तजनको घुइँचो लागेको छ।
ऋषि पञ्चमीका दिन उक्त मन्दिरमा महिलाजन ठूलो सङ्ख्यामा पूजाअर्चनाका लागि त्यहाँ पुग्ने भएकाले घुइँचो लागेको हो। प्रत्येक वर्ष ऋषि पञ्चमीका दिन त्यहाँ मेला लाग्ने भएकाले आवश्यक सुरक्षाका लागि नेपाल प्रहरी र काठमाडौं महानगरपालिकाबाट सुरक्षाकर्मी खटाइएको छ।
मेलालाई दृष्टिगत गरी स्थानीय वडाले मन्दिर तथा आसपास क्षेत्रका सम्पदास्थलसमेत सरसफाइ, रङरोगन, सडकबत्ती व्यवस्थापन गरेको छ। पञ्चमीको पूजा गर्न आउने भक्तजनको सहजता र सुविधाका लागि वडाले विभिन्न ५० वटा धार्मिक तथा सामाजिक संस्थाका प्रतिनिधिसँग समन्वय गरेको जनाइएको छ।
नेपाल रेडक्रस सोसाइटी, नेपाल स्काउट, महानगरपालिकाको स्वास्थ्य विभागसँग समन्वय गरी स्वास्थ्य जाँचका लागि शिविर सञ्चालन गरिएको छ। पूजाअर्चना र दर्शका लागि आउने भक्तजनलाई स्वास्थ्यसम्बन्धी कुनै समस्या भएको खण्डमा तत्काल उपचारका लागि निःशुल्क स्वास्थ्य सेवासहित एम्बुलेन्सको व्यवस्था गरिएको वडाध्यक्ष बालकृष्ण महर्जनले जानकारी दिए।
उनका अनुसार दर्शनका लागि बिहान सबेरै देखिनै मन्दिर खुला गरिएको तथा मेलालाई व्यवस्थित गर्न सुरक्षाकर्मीका अतिरिक्त स्वयंसेवकसहित खटाइएको छ। मेलामा हुने भिडभाडका कारण सडक यातायात व्यवस्थापनका लागि टेकु, कुलेश्वर र सानेपा क्षेत्रमा विशेष व्यवस्था गरी वैकल्पिक मार्ग प्रयोग गर्न सबैलाई आग्रह गरिएको छ।