काठमाडौं । काठमाडौंमा यस वर्षको गाईजात्रा पर्व आज बिहानैदेखि सुरु भएको छ ।
दिवङ्गत आफन्तको सम्झना तथा उनीहरूको आत्मशान्तिका लागि हरेक वर्षको भाद्र कृष्ण प्रतिपदादेखि कृष्ण जन्माष्टमीसम्म मनाइने गाईजात्रा पर्व काठमाडौंको वसन्तपुरमा आज बिहानैदेखि मनाउन थालिएको छ ।
नेवार समुदायमा मृतकका परिवारले आज बिहानैदेखि गाईजात्रा निकालेका छन् । बिहानैदेखि जिउँदो गाई, कुमारी कन्या तथा माटोको गाई निर्माण गरी टोलटोल घुमाइएको छ ।
गाईजात्राका दिन एक वर्षभित्र दिवंगत भएका आफन्तको सम्झनामा गाई वा मानिसलाई गाईका रूपमा सिंगारी आ–आफ्ना क्षेत्रमा परिक्रमा गराउने र उनीहरूलाई श्रद्धालुद्वारा दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान गरिन्छ । यसरी नगरपरिक्रमा गर्नाले वर्षभरि मृत्यु भएका व्यक्तिहरू गाईको पुच्छर समाई वैतरणी पार हुन्छन् भन्ने धार्मिक विश्वास रहेको छ ।