म कमजोर नैतिक धरातलमा उभिएको छैन: गगन

म कमजोर नैतिक धरातलमा उभिएको छैन: गगन

काठमाडौँ। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफू कुनै पनि कमजोर नैतिक धरातलमा नउभिएको स्पष्ट पार्दै आफ्नो चरित्रमाथि प्रश्न उठाउने गरी प्रायोजित षड्यन्त्र रचिएको दाबी गरेका छन्।

सामाजिक सञ्जालमार्फत एक भिडियो सन्देश जारी गर्दै महामन्त्री थापाले आफ्नो राजनीतिक जीवनमा कुनै पनि आर्थिक लेनदेन वा अनैतिक काम नभएको र आफ्नो‘‘हात सफा’ रहेको बताएका हुन्।

प्रहरी हिरासतमा रहेका विवादास्पद व्यवसायी इनम सापकोटाको अडियो सार्वजनिक भएपछि कांग्रेसको आधिकारिकता र आफ्नो नाम समेत जोडेर हल्ला चलाइएको भन्दै थापाले त्यसको कडा खण्डन गरेका छन्।

पार्टीको विशेष महाधिवेशन र आधिकारिकताको विषयलाई लिएर बाहिर आएको अडियोबारे बोल्दै थापाले पार्टीभित्रको रूपान्तरण युवाहरूको विद्रोह भएको बताए। 

“कांग्रेसको विशेष महाधिवेशन भनेको पार्टी रूपान्तरणका लागि भएको विद्रोह थियो। विद्रोह गर्नेले परिणामको चिन्ता गर्दैन र करोडको कुरा पनि गर्दैन,” थापाले भने, “नेपाली कांग्रेसको आधिकारिकताको राजनीतिक तथा कानुनी लडाइँमा एक रुपैयाँ त के, एक सुकाको पनि आर्थिक लेनदेन वा कुनै अनुचित काम भएको छैन।”

अडियो कसले, कहिले र किन रेकर्ड गर्‍यो भन्नेबारे आफूलाई कुनै जानकारी नभएको बताउँदै उनले प्रहरी हिरासतमा रहेका व्यक्तिसँगै निष्पक्ष अनुसन्धान हुनुपर्ने माग गरे। “अनुसन्धान निष्पक्ष भयो भने ‘दूधको दूध, पानीको पानी’ छुट्टिन्छ, हामी त्यसकै प्रतीक्षामा छौँ,” उनले भने।

अडियो प्रकरण सार्वजनिक भएपछि डराएर मध्यरातमा विभिन्न दलका शीर्ष नेताहरूलाई भेट्न हिँडेको भन्ने चर्चालाई थापाले अस्वीकार गरेका छन्। आफू कुनै पनि कुराबाट ‘तर्सिने मान्छे नभएको’ उल्लेख गर्दै उनले पछिल्ला भेटघाटहरू मधेस प्रदेश सरकारको विश्वासको मत लिने सन्दर्भसँग जोडिएको स्पष्ट पारे।

“मधेस प्रदेशमा नेपाली कांग्रेस नेतृत्वको सरकार छ। ५–७ दिनभित्र विश्वासको मत लिनुपर्ने भएकाले दलहरूसँग संवाद गर्नुपर्ने मेरो जिम्मेवारी हो,” उनले भने, “त्यही क्रममा मैले केही दिनअघि माओवादी अध्यक्ष प्रचण्ड, जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव र एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरेको हुँ। यसमा लुकाउनुपर्ने केही छैन।”

वर्तमान सरकार पाँच वर्ष चल्ने जनमत भए पनि जनताका जल्दाबल्दा मुद्दामा ध्यान दिन नसकेको थापाले आरोप लगाए। बाढीपहिरो पीडितको पुनर्स्थापना, सुकुमबासी समस्या, खस्किँदो अर्थतन्त्र, लगानी र रोजगारी सिर्जनामा सरकार असफल भइरहेको उनको भनाइ थियो।

सरकारको गलत काममाथि प्रश्न उठाउँदा आफ्नो ध्यान भड्काउन ‘प्रायोजित भाष्य’ तयार गरिएको थापाले दाबी गरे।