नेकपा विवाद मिल्दा यी दुई मुख्यमन्त्रीको पद धरापमा !

नेकपा विवाद मिल्दा यी दुई मुख्यमन्त्रीको पद धरापमा !

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विवाद समाधानका लागि कार्यदलले गृहकार्य गरिरहँदा मन्त्रिमण्डल पुनर्गठन र मुख्यमन्त्री हेरफेरको पनि चर्चा चलिरहेको छ ।

पार्टीमा लामो समयदेखि जारी विवाद समाधानका लागि अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले ६ सदस्यीय कार्यदल गठन गरेका थिए ।

महासचिव विष्णु पौडेल संयोजकत्वको कार्यदलमा ओली, प्रचण्ड र माधव नेपाल पक्षबाट २-२ जना सदस्य छन् ।

ओली पक्षबाट संयोजक पौडेल र शंकर पोखरेल, प्रचण्ड पक्षबाट जनार्दन शर्मा र पम्फा भुसाल तथा माधव नेपाल पक्षबाट भीम रावल र सुरेन्द्र पाण्डे कार्यदलमा छन् ।

उक्त कार्यदललाई पार्टी सचिवालयले समेत अनुमोदन गरिसकेको छ । कार्यदलले पार्टी विवाद समाधानका लागि प्रस्ताव तयार पारिरहेको छ ।

कार्यदलले गृहकार्य गरिरहेमध्ये एक प्रमुख कुरा हो, पार्टीभित्र शक्ति बाँडफाँड । अध्यक्षद्वय ओली र प्रचण्ड पक्षमा पहिले नै शक्ति बाँडफाँड भएपनि माधव नेपाल पक्षको असन्तुष्टि रहँदै आएको छ ।

यसपटक माधव नेपाल पक्षबाट थप केही मन्त्री र मुख्यमन्त्री बनाउने गरी गृहकार्य भइरहेको स्रोतको दाबी छ ।

मुलुकका कुल ७ प्रदेशमध्ये ६ वटा प्रदेशमा नेकपाको सरकार छ । हालका ६ मुख्यमन्त्रीमध्ये ओलीपक्षबाट ४ र प्रचण्ड पक्षबाट २ जना छन् ।

अब माधव नेपाल पक्षलाई कम्तिमा १ र बढीमा २ मुख्यमन्त्री दिने गरी मुख्यमन्त्रीहरू परिवर्तन हुने सम्भावना छ ।

नेकपा स्रोतका अनुसार माधव नेपाल पक्षले एक मात्र मुख्यमन्त्री पाउने अवस्थामा बाग्मती प्रदेशका मुख्यमन्त्री परिवर्तन हुनेछन् ।

ओली पक्षका डोरमणि पौडेलको ठाउँमा माधव नेपाल पक्षबाट अष्टलक्ष्मी शाक्य मुख्यमन्त्री बन्ने चर्चा छ । शाक्य नेकपाको बाग्मती प्रदेश कमिटी इञ्चार्ज समेत हुन् ।

'शक्ति बाँडफाँड हुँदा बाग्मती प्रदेशको मुख्यमन्त्री परिवर्तन हुने लगभग पक्का छ,' नेकपा स्रोतले भन्यो, 'बाग्मतीमा नेपाल पक्षबाट शाक्य मुख्यमन्त्री बन्ने सम्भावना प्रबल छ ।'

प्रदेशको स्थायी राजधानी हेटौंडा तोक्न सफल भइसकेको अवस्थामा जानै पर्दा पनि डोरमणिका लागि ठूलो कुरा हुनेछैन ।

राष्ट्रिय राजनीतितमा खासै नाम नसुनिएका पौडेलले हेटौंडा राजधानी तोकिएपछि मकवानपुरमा आफ्नो हाइट बनाउन सफल भइसकेका छन् ।

नेपाल पक्षलाई २ मुख्यमन्त्री दिनै परेको खण्डमा प्रदेश १ को मुख्यमन्त्री परिवर्तन हुने सम्भावना छ । हाल ओली पक्षका शेरधन राई प्रदेश १ मा मुख्यमन्त्री छन् ।

'प्रदेश १ मा मुख्यमन्त्री परिवर्तन भएको खण्डमा नेपाल पक्षबाट भीम आचार्य मुख्यमन्त्री बन्न सक्नुहुन्छ,' स्रोतले भन्यो ।

यद्यपि राईलाई शीतल निवास (राष्ट्रपति विद्यादेवी भण्डारी)को आशिर्वाद रहेको स्रोत बताउँछ ।

जे होस्, शक्ति बाँडफाँडमा २ मुख्यमन्त्रीको पद धरापमा पर्छ भने दोस्रो शेरधन राई नै हुन् ।

 

जो सुरक्षित छन्

अहिलेको अवस्थामा सबैभन्दा सुरक्षित गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ छन् । स्रोतका अनुसार गण्डकी प्रदेशमा तत्काल मुख्यमन्त्री परिवर्तन हुने सम्भावना छैन ।

यस्तै प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल पनि आफूले चाहेको अवस्थामा मात्र पदबाट हट्ने छन्, उनको पद पनि सुरक्षित छ ।

यद्यपि पछिल्लो समय पोखरेल बुटवलभन्दा काठमाडौंमा बढी भेटिन्छन् ।

प्रदेशमा बसिरहँदा पार्टीको राजनीतिमा तल परिने डरले उनी आफैंले मुख्यमन्त्री पद त्यागेको अवस्थमा भने मुख्यमन्त्री परिवर्तन हुनसक्छ, तर बल स्वयं पोखरेलको कोटमा छ ।

त्यसो त प्रदेशको नाम र राजधानी समेत तोक्न नसकिरहेका बेला अहिले नै छाड्दा असफलताको बिल्ला लाग्ने भएकाले पनि पोखरेलले जिम्मेवारी छाडिहाल्ने सम्भावना न्यून छ ।

कर्णाली प्रदेशमा पूर्व माओवादी खेमाका महेन्द्रबहादुर शाही मुख्यमन्त्री छन् । पूर्व माओवादीकै भागमा मुख्यमन्त्री पर्ने हुँदा उनको पद पनि सुरक्षित नै रहेको स्रोत बताउँछ ।

कर्णालीमा पूर्व ‌एमालेबाट मुख्यमन्त्रीका अन्य दाबेदर भएपनि पूर्व माओवादीमा शाही लगभग निर्विरोध नै छन्, सोही कारण उनको पदमा पनि खासै खतरा नरहेको स्रोत बताउँछ ।

सुदूरपश्चिम प्रदेशमा पनि प्रचण्डले चाहेको खण्डमा मात्र मुख्यमन्त्री परिवर्तन हुनसक्छ, अन्यथा त्रिलोचन भट्ट पनि सुरक्षित नै रहेको स्रोत बताउँछ ।

तर, शाही र भट्ट गुरुङ र पोखरेल जति ढुक्क भने छैनन् ।

 

र यी पनि ! (नेकपाबाहिरको प्रसंग)

तत्कालीन संघीय समाजवादी पार्टीबाट मुख्यमन्त्री बनेका प्रदेश २ का लालबाबु राउतलाई अहिले पार्टी एकतापश्चात कतै पद त जाने हैन भन्ने चिन्ता छ ।

समाजवादी पार्टी र राजपा मिलेर जनता समाजावादी पार्टी बनेको छ । पार्टी एकीकरणपछि मधेशमा पनि सरकार फेरिन सक्ने चर्चा छ ।

पूर्व राजपा खेमामा मुख्यमन्त्रीका दावेदार बढी छन् । यद्यपि उपेन्द्र यादवको दह्रो साथ र आशिर्वाद रहँदासम्म लालबाबुलाई पनि त्यति साह्रो खतरा नहोला ।

पढ्नुहोस्, यो पनि :

चार दिनमा प्रचण्डलाई ओलीका ३ सरप्राइज !