चार दिनमा प्रचण्डलाई ओलीका ३ सरप्राइज !

चार दिनमा प्रचण्डलाई ओलीका ३ सरप्राइज !

काठमाडौं । नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल 'प्रचण्ड'बीच सम्बन्ध सुध्रिएका संकेतहरू देखिन थालेका छन् ।

गत बिहीबार र शुक्रबार भएको भेटमा दुई नेताबीच मन माझामाझ भएपछि अविश्वास हटेको देखिएको छ, त्यसका केही संकेतहरू प्रधानमन्त्री ओलीका पछिल्ला ३ कदममा देख्न सकिन्छ ।

सम्बन्ध बिग्रिएका बेला पार्टी बैठकमा प्रचण्डको कुर्सी समेत यता र उता हुने गरेकोमा अहिले ४ दिनको अवधिमै प्रधानमन्त्रीका तर्फबाट प्रचण्डले ३ सरप्राइज पाइसकेका छन् ।

प्रचण्ड–ओली वार्ता सकारात्मक बनेपछि समस्या समाधानका लागि शुक्रवार कार्यदल गठन भएको थियो ।

महासचिव विष्णु पौडेल संयोजकत्वको ६ सदस्यीय कार्यदललाई सोमवार पार्टी सचिवालय बैठकले अनुमोदन गरिसकेको छ ।

कार्यदलमा पौडेलका अलावा भीम रावल, जनार्दन शर्मा, शंकर पोखरेल, सुरेन्द्र पाण्डे र पम्फा भुसाल सदस्य छन् ।

कार्यदलले गृहकार्य गरिरहँदा नेकपाको विवाद समाधानका संकेतहरू बाहिर प्रस्टै देखिएका छन् । जसको पुष्टि प्रचण्डलाई ओलीले दिएका ३ सरप्राइजले पनि गर्छन् ।

 

के-के हुन् ती सरप्राइज ?

नियुक्तिका विषयमा छलफल गर्दा प्रचण्डलाई सहभागी

नेकपा सचिवालय बैठकलगत्तै सोमवार प्रधानमन्त्री ओलीले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई बालुवाटार बोलाए । संवैधानिक आयोगहरू सहित विभिन्न निकायमा रिक्त पदाधिकारी नियुक्तिका विषयमा छलफल गर्न देउवालाई बालुवाटार बोलाइएको थियो ।

देउवासँगको भेटमा प्रधानमन्त्री ओलीले प्रचण्डलाई पनि सहभागी गराए । यसअघि ओलीले यही विषयमा देउवासँग भेट्दा प्रचण्डलाई जानकारी समेत हुँदैनथ्यो । प्रधानमन्त्री ओलीसँग प्रचण्डसहित पार्टीका अन्य नेताको असन्तुष्टि नियुक्तिमा मनोमानी गरेको भन्ने पनि थियो, जसमा आफू सुध्रिएको संकेत ओलीले गरिसकेका छन् ।

प्रचण्डलाई समेत सहभागी गराएर देउवासँग भेट्ने ओलीको कदमले नेकपाका दुई अध्यक्षबीच सम्बन्ध सुध्रिएको संकेत मिल्छ ।

केही दिनअघिसम्म बोलचाल समेत बन्द भएको अवस्था थियो, प्रधानमन्त्रीको यो कदम प्रचण्डका लागि सरप्राइजभन्दा कम छैन ।

 

बैठक चलाउने अधिकार

द्विअध्यक्षात्मक प्रणालीमा चलिरहेको नेकपामा पहिलो वरीयता ओलीको छ ।

यद्यपि केही महिनाअघि भएको सहमतिमा पार्टी सञ्चालनको कार्यकारी अधिकार प्रचण्डलाई दिने भनियो ।

यसबीचमा प्रचण्डले सचिवालयको एउटा बैठक बोलाए पनि, तर त्यसपछि प्रधानमन्त्री समेत रहेका अर्का अध्यक्ष ओलीले हस्तक्षेप गर्न थाले ।

हुँदाहुँदा परिस्थिति यहाँसम्म पुग्यो कि ओलीले मन लाग्दा बैठक बोलाउने, मन नलाग्दा एकलौटी रूपमा स्थगन गरिदिने ।

बिहीवार र शुक्रवारको ओली–प्रचण्ड वार्तापछि यसमा पनि युटर्न देखिएको छ ।

सोमवार बसेको सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले अध्यक्ष प्रचण्डलाई नै बैठक शुरू गर्न आग्रह गरे ।

प्रचण्डले बैठक चलाए, ओली चुपचाप बसे ।

 

सल्लाहकारको फेरिएको बोली

ओलीसँग प्रचण्डको ठूलो चित्त दुखाइ उनको सचिवालयकै सदस्यहरूको बेलगाम बोलीमा पनि थियो ।

प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापा प्रचण्डका सदाबहार आलोचक थिए । आलोचना पनि अत्यन्तै कटु शब्द प्रयोग गरेर ।

शुरूशुरूमा त प्रचण्डले यसलाई वास्ता गरेनन् ।

केही महिनाअघि पूर्व माओवादी खेमाका केही नेता यस विषयमा प्रचण्डको ध्यानाकर्षण गराउन खुमलटार पुगेका थिए ।

त्यतिबेला प्रचण्डले भनेछन्– 'बोल्न दिनुस् न, अनि पो उनीहरूको मनमा के छ, के चाहन्छन् भन्ने कुरा थाहा हुन्छ ।'

अति भएपछि प्रचण्डलाई पनि यसले घोच्न थाल्यो । त्यसपछि प्रधानमन्त्रीसँगको तिक्ततामा यो अर्को एउटा कारण बन्न पुग्यो ।

अहिले एकाएक सूर्य थापाको पनि बोली फेरिएको छ । अहिले उनले आफ्नो निशाना प्रचण्डलाई छाडेर अन्य नेतातर्फ साँध्न थालेका छन् ।

प्रधानमन्त्रीका सल्लाहकारको एकाएक बोली फेरिनु पनि प्रचण्डका लागि सरप्राइज भन्दा कम छैन ।

 

हेर्नुहोस्, सूर्य थापाको स्टाटस :

पार्टी एकता र सहमतिको प्रक्रिया जे जसरी भए पनि अघि बढ्नु स्वयंमा निकै खुशीको कुरा हो, यसमा कसैले तर, किन्तु, परन्तु, यद्यपि, तथापि भनेर असन्तुष्टि, गुनासो र भ्रर्त्सना गरेको स्वीकार्य हुन सक्दैन ।

केही अघिसम्मको चार जनाको मोर्चा कार्यदल गठनसँगै तीन जनातिर खुम्चिँदै जानु सकारात्मक संकेत हो ।

दुई जना अध्यक्षबीचको समझदारी, पारस्परिक विश्वास र सरसल्लाहबाट निकालिने निष्कर्ष नै नेकपाको हकमा विधानसम्मत, सही र संस्थागत प्रक्रिया हो । विधि, पद्धति र संस्थागत कार्यपद्धति पनि यही हो ।

दुई जना अध्यक्षका बीच विवाद र अविश्वास बढाएर आफ्नो स्वार्थसिद्ध गर्ने दाउपेचमा कोही संलग्न भएर आफ्नो इतिहास, भूमिका र सार्वजनिक प्रतिष्ठालाई क्षयीकरण गर्ने भूल नगरेकै राम्रो होला ।

पार्टीमा सहमति, एकता र पारस्परिक सम्मान बढाउने हरेक सकारात्मक प्रयत्नमा सके खुला दिलले सहयोग गर्न अग्रसर भए हुन्छ, नसके आत्मकेन्द्रित, गुटगत र स्वार्थी चलखेलमा सक्रियता नदेखाउनु नै समयोचित र उपयुक्त कदम हुनेछ ! चेतना भया !!

पढ्नुहोस्, यो पनि :

नेकपा कार्यदलले सहमतिका लागि तयार पार्दैछ कस्तो प्रस्ताव ? यसकारण चुहिएको छैन कुरा