नेकपा कार्यदलले सहमतिका लागि तयार पार्दैछ कस्तो प्रस्ताव ? यसकारण चुहिएको छैन कुरा

नेकपा कार्यदलले सहमतिका लागि तयार पार्दैछ कस्तो प्रस्ताव ? यसकारण चुहिएको छैन कुरा

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा लामो समयदेखि जारी विवाद समाधानका लागि कार्यदल बनेको छ ।

महासचिव विष्णु पौडेल नेतृत्वको कार्यदलमा स्थायी कमिटी लेभलका अन्य ५ सदस्य छन् ।

६ सदस्यीय कार्यदलमा पार्टीमा क्रियाशील तीनै प्रमुख समूहको प्रतिनिधित्व छ ।

प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली समूहबाट संयोजक पौडेल र शंकर पोखरेल, अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पक्षबाट जनार्दन शर्मा र पम्फा भुसाल तथा वरिष्ठ नेता माधव नेपाल पक्षबाट भीम रावल र सुरेन्द्र पाण्डे सदस्य छन् ।

कार्यदलले शनिवारबाटै काम थालेपनि सहमतिका लागि कस्तो पहल भइरहेको छ भन्ने कुरा मिडियामा सार्वजनिक भएको छैन ।

स्रोतका अनुसार त्यसको मुख्य कारण हो, एउटा आचारसंहिता ।

सहमतिका लागि विभिन्न विकल्पमा छलफल भइरहेका कुराहरू सार्जनिक हुँदा सहमतिको माहोल बिग्रिने भएकाले कार्यदलले शुरूमै एउटा आचारसंहिता बनाएको हो ।

आचारसंहितामा सहमति नहुँदासम्म कसैले पनि मिडियामा नबोल्ने कुरा उल्लेख छ । स्रोतका अनुसार सदस्यहरूलाई आचारसंहिता कडाइका साथ पालना गर्न भनिएको छ ।

सोही कारण कार्यदलका सदस्यहरूले मिडियामा कुनै प्रतिक्रिया दिइरहेका छैनन् ।

सहमतिका लागि कार्यदलले तयार पारेको प्रस्ताव अध्यक्षद्वयले हस्ताक्षर गरेपछि एकैपटक सार्वजनिक गर्ने तयारी छ ।

दुई अध्यक्षको मात्र सहमतिमा बनाइएको कार्यदलको वैधानिकतामाथि माधव नेपाल पक्षबाट कुरा उठेपछि त्यसलाई वैधानिकता दिन सोमवारका लागि नेकपा सचिवालय बैठक बोलाइएको छ ।

कार्यदलले छिट्टै प्रस्ताव तयार पारेर अध्यक्षद्वयलाई बुझाउने तयारी गरेको स्रोतको दाबी छ ।

कार्यदलले पार्टीमा देखिएको वैचारिक, राजनीतिक, सांगठनिक विवाद पहिल्याउने काम गरेको छ ।

बिहीबारदेखि अध्यक्षद्वयका बीच भएको छलफलले पार्टीभित्र देखिएको विवाद समाधानका लागि शुक्रवार कार्यदल गठन गरेको थियो ।

कार्यदलले पार्टी महाधिवेशन, बाँकी रहेका पार्टीको समायोजन, कार्यविभाजन, प्रदेश तथा संघमा मन्त्री हेरफेर, सरकार र पार्टीबीचको समन्वय लगायतका विषयमा प्रस्ताव तयार पार्दैछ ।

नछुटाउनुस्,

मन्त्रिपरिषद् पुर्नगठनमा जुटे ओली-प्रचण्ड, मुख्यमन्त्री पनि फेरिने