मन्त्रिपरिषद् पुर्नगठनमा जुटे ओली-प्रचण्ड, मुख्यमन्त्री पनि फेरिने

मन्त्रिपरिषद् पुर्नगठनमा जुटे ओली-प्रचण्ड, मुख्यमन्त्री पनि फेरिने

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको विवाद समाधानको लागि कार्यदल गठन भएपछि प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड मन्त्रिपरिषद् गठनमा लाग्ने भएका छन् । २ वर्ष कार्यकाल पुरा गरेका झण्डै १० मन्त्री र ३ जना मुख्यमन्त्री फेर्ने ओली प्रचण्डको तयारी रहेको स्रोतको दाबी छ । 

बिहीबार र शुक्रबारको वार्तापछि जारी विवाद समाधानका लागि निश्चित विषयमा ओली-प्रचण्ड सहमत भएका थिए । सोही विषयलाई लिखित रुप दिने र प्रविधिक रुपमा मिलाउने गरी महासचिव विष्णु पौडेलको संयोजकत्वमा ६ सदस्यीय कार्यदल गठन भएको थियो । सो कार्यदलमा भीम रावल, शंकर पोखरेल, सुरेन्द्र पाण्डे, जनार्दन शर्मा र पम्फा भुसाल सदस्य रहेका छन् ।

कार्यदलले काम थालेपछि ओली प्रचण्ड भने पहिलो चरणमा मन्त्रिमण्डल पुर्नगठन गर्ने तयारीमा लागेका हुन् । दोस्रो तरणमा भने प्रदेश सरकार पनि पुर्नगठन गरिनेछ । पूर्व माओवादीको नेतृत्व रहेका एक मुख्यमन्त्री र पूर्व एमाले नेतृत्वमा रहेको २ गरि कम्तिमा ३ जना मुख्यमन्त्रीलाई विदाइ गरेर नयाँ मुख्यमन्त्री नियुक्त गर्नेमा ओली प्रचण्ड सहमत भएका छन् । 

स्रोतका अनुसार माओवादीको तर्फबाट कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको पद धरापमा रहेको छ । यता पूर्वएमालेको तर्फबाट प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल, बागमति प्रदेशका डोरमणी पौडेल र प्रदेश १ का शेरधन राईमध्ये २ जनालाई विदाई गर्ने तयारी छ । 

नयाँ मन्त्रीमा जस्को चर्चा छ
ओली प्रचण्ड मन्त्रिमण्डल पुर्नगठनमा लागेसँगै नयाँ मन्त्रीहरुबारे चर्चा सुरु भएको छ । नयाँ मन्त्रीमा पूर्व माओवादीबाट जनार्दन शर्मा, हरिबोल गजुरेल, टोपबहादुर रायमाझी, देवेन्द्र पौडेल, प्रभु शाह र पम्फा भुसालको नाम चर्चामा छ ।

पूर्व एमालेबाट भने पार्टी महासचिव विष्णु पौडेल, भीम रावल, सुरेन्द्र पाण्डे, सोमप्रसाद पाण्डे, गणेश ठगुन्ना र प्रेम आले लगायत नयाँ मन्त्री बन्ने चर्चामा छन् । पार्टीमा सहमति जुटेमा ओली भने उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठलाई पनि मन्त्रिपरिषद्मा सामेल गराउन चाहेका छन् । 

त्यसैगरी ओलीले २ वर्ष कार्यकाल पुरा गरेको भएपनि गृहमन्त्री रामबहादुर थापा र ईश्वर पोखरेललाई भने निरन्तरता दिन चाहेका छन् । यता प्रचण्डले पनि वर्षमान पुन र विना मगरलाई निरन्तरता दिन चाहेको स्रोतको दाबी छ । 

पढ्नुहोस्, यो पनि :

नेकपा विवाद समाधानको भित्री रहस्य : ओली-प्रचण्ड यस्तो समझदारी जुन 'सार्वजनिक हुने छैन'