नेकपा विवाद समाधानको भित्री रहस्य : ओली-प्रचण्ड यस्तो समझदारी जुन 'सार्वजनिक हुने छैन'

नेकपा विवाद समाधानको भित्री रहस्य : ओली-प्रचण्ड यस्तो समझदारी जुन 'सार्वजनिक हुने छैन'

काठमाडौं । सत्तारुढ दल नेकपामा लामो समयदेखि जारी विवाद समाधानउन्मुख बनेको छ ।

प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'बीच बिहीवार र शुक्रवार भएका वार्ता सहमतिनजिक पुगेपछि त्यसलाई मुर्तरूप दिन कार्यदल गठन गरिएको छ ।

महासचिव विष्णु पौडेल संयोजकत्वको कार्यदलमा ओली, प्रचण्ड र माधव नेपाल तीनै पक्षका २/२ जना सदस्य छन् ।

कार्यदलमा ओली पक्षबाट संयोजक पौडेलका र शंकर पोखरेल, प्रचण्ड पक्षबाट जनार्दन शर्मा र पम्फा भुसाल तथा नेपाल पक्षबाट भीम रावल र सुरेन्द्र पाण्डे सदस्य छन् ।

कार्यदलका लागि निश्चित समयसीमा नतोकिए पनि यथाशक्य छिटो सहमतिको खाका सुझावस्वरूप पेश गर्न भनिएको छ ।

आजैबाट काम शुरू गर्ने कार्यदलले २/३ दिनभित्रै सहमतिको खाका तयार पार्ने कार्यदलका एक सदस्यले जानकारी दिए ।

कार्यदलको पहिलो बैठक आज (शनिवार) मध्याह्न महासचिव विष्णु पौडेलको भैँसेपाटीस्थित निवासमा बस्ने तयारी छ ।

अनि गठन भयो कार्यदल  

नेकपामा देखिएका तमाम समस्या समाधानका लागि कार्यदल गठन गर्नुअघि लगातार २ दिन भएको छलफलमा ओली र प्रचण्डबीच मन माझामाझ भयो ।

त्यसअघिका वार्ताहरू तीतो पोखापोखमै सीमित हुने गरेका थिए ।

स्रोतका अनुसार बिहीवार र शुक्रवारका वार्तामा दुवै अध्यक्षले आ-आफ्ना कमी कमजोरी स्वीकारेर आगामी दिन त्यस्तो गल्ती नदोहोर्‍याउने प्रतिबद्धता जनाएका छन् ।

'दुवै अध्यक्षले एकअर्काको आवश्यकता महसूस गरेपछि यस्तो वातावरण बनेको हो,' स्रोतले भन्यो, 'एकअर्कालाई पेलेर एक्लाएक्लै हिँड्न खोज्दाको परिणाम त उहाँहरूले यसबीचमा राम्रैसँग देख्नुभयो नि !'

ओलीले सरकार र प्रचण्डले पार्टी चलाउने तथा एकअर्काको काममा अनावश्यक हस्तक्षेप नगर्ने बरु सहयोग र समर्थन गर्ने समझदारी पनि दुई अध्यक्षबीच भएको स्रोतको दाबी छ ।

ओलीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय महत्त्वका विषयमा निर्णय गर्दा तथा महत्त्वपूर्ण नियुक्तिहरू गर्दा प्रचण्डसहित पार्टीको राय लिनेछन् भने सरकारले गरेका राम्रा कामको स्वामित्व पार्टीले लिँदै जनतासम्म लैजाने सहमति पनि दुई अध्यक्षबीच भएको स्रोतको दाबी छ ।

अब चुनाव आउन २ वर्ष र केही महिना मात्र बाँकी रहेकाले सरकारले त्यही अनुसार काम नगर्ने र पार्टीले स्वामित्व नलिने हो भने समस्या हुनसक्ने दुवै अध्यक्षले बुझेका छन् ।

मन्त्रिपरिषद् पुनर्गठन, विवादित नियुक्ति बदर, आवश्यक परे १ वा २ प्रदेशको मुख्यमन्त्री परिवर्तन लगायतका विषयमा सहमतिको ठोस प्रस्ताव तयार पार्न पनि दुई अध्यक्ष सहमत छन्, उक्त कुरा कार्यदल संयोजक पौडेल तथा सदस्यद्वय शर्मा तथा पोखरेललाई मौखिकरूपमा जानकारी गराइएको छ ।

कार्यदलले यसै पेरिफेरिमा रहेर सहमतिको प्रस्ताव तयार पार्नेछ ।

प्रचण्डले अब पार्टीलाई महधिवेशन केन्द्रित गराउने छन्, सिंगो पार्टी चैतको महाधिवेशनमा होमिने गरी निश्चित कार्यतालिका पनि तोकिने सम्भावना छ ।

जुन समझदारी सार्वजनिक हुने छैन

उच्च स्रोतले गरेको संकेतअनुसार ओली र प्रचण्ड महाधिवेशन पछिसम्म पनि सहकार्य गरेर अघि बढ्न सहमत भएका छन्, जुनकुरा औपचारिक रूपमा सार्वजनिक भने हुनेछैन ।

पार्टी एकताका क्रममा ओली र प्रचण्डबीच भएको आलोपालोको सहमति पनि औपचारिकरूपमा सार्वजनिक गरिएको थिएन, पछि मात्र थाहा भएको थियो ।

आगामी महाधिवेशनमा उम्मेदवारी नदिने बताइसकेका ओलीले आफूलाई पहिलो वरीयताको सम्मानित तर सेरेमोनियल पद सुनिश्चित हुने गरी प्रचण्डलाई पार्टी अध्यक्षमा समर्थन गर्ने आश्वासन दिएको स्रोतको दाबी छ ।

त्यसका लागि पार्टी विधानमा सर्वोच्च नेता राख्ने व्यवस्था गरिनसक्छ ।

ओलीले यसअघि गरेका सहमति कार्यान्वयन नगरेको बुझाइमा रहेका प्रचण्ड ओली पक्षका दोस्रो तहका नेताहरूको विश्वासमा उधारो सहमतिका लागि तयार भएको बताइएको छ ।

पछिल्लो समय अड्किएको विचारको गाँठो पनि फुक्ने वातावरण बनेको छ ।

पार्टी एकताका क्रममा गरिएको सहमति अनुसार जनताको जनवाद नै अबको कार्यदिशा हुनेछ । जबजका मूलभूत कुरा त्यसमा समेटिने छन् ।

'बहुदलीय भन्ने शब्द नहुने मात्र हो, जबजका राम्रा पक्षहरू सबै त्यसभित्र हुनेछन्, केही कुरालाई भने समयानुकूल बनएर समावेश गरिनेछ,' स्रोतले भन्यो, 'यसलाई ओलीले नाम मात्र फेरिएको जबज र प्रचण्डले परिमार्जनसहितको नयाँ कार्यदिशा मानेर सहमति जनाएका हुन सक्छन् ।'

यत्रो विवाद किन भनेर त्यसको औचित्य पुष्टि हुनुपर्ने र माधव नेपाल समूहलाई पनि चिड्याउन नसक्ने बाध्यात्मक अवस्थामा प्रचण्ड थिए, त्यसको सेफल्यान्डिङ कार्यदलमार्फत भएको छ ।

बाहिर आउने सहमति कार्यदलले गरेको प्रस्तावअनुसार नै हुने भएकाले राम्रै फेस सेभिङ हुनेछ । कार्यदलमा माधव नेपाल पक्षका पनि २ प्रभावशाली नेता सदस्य छन् ।

'बिहीवार र शुक्रवारको सिनारियो हेर्दा अब महधिवेशन पछिसम्म पनि ओली-प्रचण्ड सहयात्राको वातावरण बनेको देखियो,' स्रोतले भन्यो, 'ओलीले अध्यक्षमा उम्मेदवारी नदिने बताइसकेको अवस्थामा अबको प्रतिस्पर्धा माधव नेपाल र प्रचण्डबीच नै हो भन्ने कुरा पहिलेदेखि नै कसैबाट छिपेको छैन ।'

अबको प्रतिस्पर्धा प्रचण्डसँगै हो भन्ने कुरा माधव नेपाल स्वयंले पनि पहिलेदेखि नै बुझेका हुन्, त्यसैले त प्रचण्ड र नेपालले महाधिवेशनसम्मै सहकार्य भनेका थिए महाधिवेशनपछिसम्म होइन ।

पढ्नुहोस्, यो पनि :

पूर्व माओवादीका यी ५ 'रक्षाकवच' जसले प्रधानमन्त्री ओलीको संकट टार्न भूमिका खेलिरहेका छन् !
 

प्रचण्ड-नेपाल सहकार्य ओलीको पेलानविरुद्ध भएको र सहमति भएपछि त्यसको औचित्य नरहने पूर्व माओवादी खेमाका एक नेता बताउँछन् ।

नछुटाउनुहोस्, 

नेकपा विवाद समाधानको 'रामवाण सूत्र' : अध्यक्षको साटो ओलीलाई अर्कै सम्मानित पद !