प्रस्तावित नागरिकता विधेयकमा कांग्रेस र जनता समाजवादीको आपत्ति

प्रस्तावित नागरिकता विधेयकमा कांग्रेस र जनता समाजवादीको आपत्ति

काठमाडौ । प्रमुख विपक्षी नेपाली कांग्रेसले नेपाली पुरुषसँग विवाह गर्ने विदेशी महिलालाई ७ वर्षपछि मात्र अंगीकृत नागरिकता दिने प्रस्तावमा फरक मत राखेको छ । संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा यसबारे आज भएको छलफलमा कांग्रेस सांसदहरू दिलेन्द्रप्रसाद बडू, देवेन्द्रराज कँडेल, डा। डिला संग्रौला पन्त, अमरेशकुमार सिंह, मीना पाण्डे र विनोद चौधरीले फरक मत दर्ता गराएका हुन् । 

यसअघि आइतबार बिहान बसेको कांग्रेस नेताहरूको बैठकले अंगीकृत नागरिकताबारे अहिलेकै व्यवस्था कायम राख्नुपर्नेमा जोड दिएको थियो । कांग्रेसले हाल राज्य व्यवस्था समितिमा प्रस्तावको रुपमा आएको र सत्तारुढ नेकपाले सहमति गरेको वैवाहिक अंगीकृत नागरिकता ७ वर्षपछि दिने प्रस्ताव यसअघि दलीय सहमतिमा बनेको नागरिकता ऐन २०६३ को विपरीत रहेको बताएको छ । 

नागरिकतामा गरिने नयाँ व्यवस्थाले संवैधानिक, सामाजिक र पारिवारिक जटिलता देखिने कांग्रेसको भनाइ छ ।

जनता समाजवादी पार्टीले पनि नेपाली नागरिकसँग विवाह गरेकी विदेशी महिलालाई सात वर्षपछि मात्रै नागरिकता दिने प्रावधानले नेपाल भारत सम्बन्धलाई आघात पुर्‍याउने बताएको छ।

पार्टीको आइतबार बसेको संसदीय दलको बैठकको निर्णयमा भनिएको छ- नेपाली नागरिकता सम्बन्धी ऐन लागू भएपश्चात वर्षौंदेखि विवाहको सम्बन्धको आधारमा नागरिकता प्राप्त गर्ने प्रचलित व्यवस्थाको विपरित गरिएको यस निर्णयले नेपाल(भारतबीच सदियौंदेखि रहेको सामाजिक-सांस्कृतिक तथा बिहावारीको सम्बन्धलाई आघात पुर्‍याउने निश्चितै छ।