भारतले तत्काल नेपालको भूमि फिर्ता गर्नुपर्छ : दिनानाथ शर्मा

भारतले तत्काल नेपालको भूमि फिर्ता गर्नुपर्छ : दिनानाथ शर्मा

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद दिनानाथ शर्माले संविधान संशोधन प्रस्तावले नेपालको भूमिका विषयमा सबै एकजुट भएको सन्देश गएको बताएका छन् । राष्ट्रिय सभामा नक्सा संशोधनका लागि राखिएको संशोधन विधेयकमाथिको दफावार छलफलमा भाग लिँदै नेकपाका सचेतक शर्माले अब भारतले सेना हटाउँदै नेपालको भूमि पूर्ण रुपमा फिर्ता दिनुपर्ने माग गरे।  

नेपालको राष्ट्रियता र सार्वभौमिकतालाई केन्द्रमा राखेर संशोधन गर्ने प्रस्ताव पेश गरिएको भन्दै उनले एक युगमा एक दिन आज रहेको बताए।  ‘यो संविधान संशोधन विधेयकलाई स्वागत गर्दछु। प्रतिनिधि सभाबाट जसरी सर्वसम्मतिले पारित भएर आएको छ, सरकार र सबै दलहरुलाई धन्यवाद दिन चाहन्छु,’ शर्माले भने, ‘नेपाली  राष्ट्र र राष्ट्रियताका लागि एक ठाउँमा छौं भन्ने सन्देश यो संशोधनले दिने छ।’ 

प्रजातन्त्रका लागि लडिएको लामो लडाइँमा अलग–अलग भएपनि अहिले एकजुट भएको उनले बताए। शर्माले भूमि फिर्ता गर्न नेपाल सफल हुने बताए ।  उनले भारतले नेपाललाई असल मित्र ठान्ने हो भने अंग्रेजले लिएको भूभाग फिर्ता दिनु पर्ने बताए। 

नेपाल र भारतबीच यो विषय समाधान नभए अन्तर्राष्ट्रिय विज्ञहरु राखेर समाधान गर्नुपर्ने उनले बताए। भारतीय नागरिक र विज्ञहरुले उक्त क्षेत्र नेपालको भनेकाले अबको नेतृत्वले हालै भएको गल्ती सच्चाउनुपर्ने उनले बताए।