काठमाडौँः जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले बहालवाला सांसद महेश बस्नेत र कृष्णकुमार श्रेष्ठ तथा प्रहरीका पूर्व प्रमुख सर्वेन्द्र खनालविरुद्धको जाहेरीसहितको निवेदन लिन अस्वीकार गरेको छ। जनता समाजवादी पार्टीले खनाल र सांसदद्वय बस्नेत र श्रेष्ठविरुद्ध सांसद अपहरण आरोपमा जाहेरी दर्ताको प्रयास गरिरहेको छ।
सांसद सुरेन्द्र यादवलाई महोत्तरीबाट अपहरण गरी काठमाडौँ ल्याएको आरोप उनीहरुमाथि लगाइएको छ।
आफ्ना सांसद अपहरण गरेको भन्दै जनता समाजवादी पार्टीले आइतबार महानगरीय प्रहरी परिसर टेकुमा जाहेरी दर्ताका लागि लगेको थियो। तर, प्रहरीले महोत्तरीमा नै जान सुझाव दिएको थियो।
सोपछि जसपा नेपाल मंगलबार सरकारी वकिल कार्यालयमा निवेदन लिएर पुगेको हो।
सरकारी वकिल कार्यालयले पनि जाहेरीसहितको निवेदन अस्वीकार गरेपछि पार्टीसँग जाहेरी दर्ताको मागसहित अदालतमा जाने अन्तिम विकल्प छ। फौजदारी कार्यविधि संहिता ऐन अनुसार पार्टीले टेकुको निर्णयविरुद्ध प्रहरीको माथिल्लो तहमा पनि सिकायत गरिसकेको छ। उक्त तहबाट पनि जाहेरी अस्वीकार भइसकेको छ।