स्वास्थ्य सचिवलाई चिकित्सक संघकाे चेतावनीः चिकित्सकका बारेमा बाेल्दा विचार गरेर बाेल्नु !

स्वास्थ्य सचिवलाई चिकित्सक संघकाे चेतावनीः चिकित्सकका बारेमा बाेल्दा विचार गरेर बाेल्नु !

काठमाडौं । नेपाल चिकित्सक संघले स्वास्थ्य मन्त्रालयका सचिव यादव काेइरालाले पछिल्लाे समय चिकित्सकहरुकाे आत्मबल गिराउने किसिमले दिँदै आएका अभिव्यक्ति प्रति आपत्ति जनाएकाे छ ।

संघले एक प्रेस विज्ञप्ती जारी गर्दै चिकित्सकका बारेमा बाेल्दा विचार गरेर मात्र आफ्ना अभिव्यक्ति सार्वजनिक गर्न भनेकाे छ । 

मन्त्रालयका जिम्मेवार व्यक्तिले दिने अभिव्यक्तिले चिकित्सकको मनोबल उच्च पार्न नसक्ने र स्वास्थ्य सेवा प्रवाहलाई नै असर गर्न सक्ने विज्ञप्तिमा उल्लेख छ।

सचिव कोइरालाले पछिल्लाे समय शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका डाक्टर शेबहादुर पुनका विषयमा एक सञ्चार माध्यममा अशोभनीय अभिव्यक्ति दिएका थिए । करारमा रहेको डाक्टर भन्दै उनले पुनमाथि कडा अभद्र शैलिकाे बाेलिपछि उनकाे चाैतर्फि आलाेचना भएकाे थियाे ।

स्वास्थ्य क्षेत्रमा करार, दैनिक ज्यालादारीमा नियुक्ति गर्नुको साट्टा स्थायी दरबन्दी वृद्धि गरी तत्काल लोकसेवा आयोगबाट स्थायी पदपूर्ति गर्न समेत संघले माग गरेको छ।