साइकलमा पाँच सय लिएर भारतबाट नेपाल यात्रु ओसार्ने पक्राउ

साइकलमा पाँच सय लिएर भारतबाट नेपाल यात्रु ओसार्ने पक्राउ

बाँके : बाँकेको नेपाल–भारत सीमावर्ती क्षेत्रमा अलपत्र यात्रुसँग रकम लिई लुकीछिपी आवागमन गराउने एक जना पक्राउ परेका छन् । मुख्य नाका बन्द भएपछि ग्रामीण क्षेत्रमा रहेका छोटी नाकाबाट साइकलमा राखेर अलपत्र भारतीयसँग रु पाँच सय लिएर भारत पु¥याउने र फर्किँदा नेपाल आउने नागरिकलाई लुकिछिपी आवागमन गराउने समूहका एक जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता शिवबहादुर सिंहले जानकारी दिनुभयो ।

उहाँका अनुसार कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि मुलुकमा जारी बन्दाबन्दीका कारण नाका बन्द भएका बेलामा नाकामा अलपत्र व्यक्तिलाई लक्ष्य गरेर पाँच जनाले यस्तो धन्दा गरेको खुलेको छ । त्यसमध्ये एक जनालाई पक्राउ गरिएको हो । ती व्यक्तिले नेपालबाट तीन जनालाई भारत पु¥याएको खुलेको छ । चार मुख्य व्यक्ति फरार रहेकाले धेरै जानकारी हुन नसकेको प्रहरी नायब उपरीक्षक सिंहले बताउनुभयो ।

प्रहरीले अन्य चार जनाको खोजी गरिरहेको छ । सीमा क्षेत्रमा नागरिक लुकिछिपी आवतजावत भएको सूचनाका आधारमा प्रहरीले निगरानी बढाएको छ । कोरोना भाइरसको सङ्क्रमण रोकथाम र नियन्त्रण गर्न र भारतीय सीमाबाट हुन सक्ने आवतजावत निस्तेज पार्न नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त सुरक्षा फौज परिचालन गरिएको बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक वीरबहादुर वलीले जानकारी दिनुभयो ।