काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रधानमन्त्री, मन्त्री, राजनीतिक आस्था र निकटताका आधारमा दोषीलाई उन्मुक्ति दिन नमिल्ने बताएका छन् ।
पार्टी मुख्यालय सानेपामा जारी ‘हामी तयार छौँ अभियान' अन्तर्गत स्थानीय तहका प्रतिनिधिहरूका लागि आयोजित अभिमुखीकरण कार्यक्रममा थापाले गलत क्रियाकलाप गर्ने सबैलाई कानुनी दायरा ल्याउनुपर्ने बताए ।
कांग्रेसका नेता तथा कार्यकर्ताले गलत गरेको भएमा आफूहरूले कारबाही गर्न सहयोग गर्ने उनले बताए । तर, पूर्वाग्रह वा दुराग्रह राखेमा आन्दोलनमा उत्रिने चेतावनी पनि दिए । कांग्रेसमा आबद्ध भएकै आधारमा केही नेताहरूलाई राज्यबाट पूर्वाग्रह, दूराग्रह वा अत्याचारको शिकार बनाउन खोजिएको शंका पैदा भएको उनको भनाइ छ । सत्तारुढ दल रास्वपाका नेता तथा कार्यकर्ताको हकमा पनि यही सिद्धान्त लागु हुनुपर्ने थापाले बताए ।
सार्वजनिक टिप्पणी वा आरोपकै आधारमा कसैलाई अपराधी घोषणा गर्ने काम कांग्रेसले नगर्ने उनको भनाइ छ । तर, प्रधानमन्त्री, प्रधानमन्त्रीको टिम वा रास्वपा सभापतिको निकटताका आधारमा कसैले पनि राज्यबाट अतिरिक्त सुविधा वा कानुनी छुट पाउन नहुने उनले बताए । राजनीतिक पहुँचका आधारमा उन्मुक्ति दिने प्रवृत्तिको कांग्रेसले सधैँ विरोध गर्ने उनको भनाइ छ ।
यस्तो छ थापाको भनाइ :
कांग्रेस छ, गलत गरेको छ भन्ने आधारमा उसले अतिरिक्त सुविधा केही पनि पाउनु हुँदैन । तर, गलत गरेको छैन तर कांग्रेस छ, उसले कुनै पनि खालको राज्यको दूराग्रह, राज्यको अत्याचार, राज्यको पूर्वाग्रहको शिकार पनि हुनुहुँदैन । र, यही कुरा रास्वपाको हकमा पनि लागु हुन्छ । कोही साथी रास्वपामा लाग्नुभएको छ, अहिले सरकारको समर्थक हुनुहुन्छ । त्यसकारणले गर्दाखेरि कुनै कहीँ बाहिर आएको सार्वजनिक टिप्पणीको आधारमा नेपाली कांग्रेस हामी उसलाई अपराधी करार गर्दै हिँड्दैनौँ । अपराधी, कोही मान्छे अपराधी हो कि होइन भन्ने काम हाम्रो होइन । कुनै नेताको बारेमा, कुनै मन्त्रीका बारेमा, कसैका बारेमा, रास्वपाका नेताका बारेमा केही कुरा आयो भन्दैमा हामी भन्दै हिँड्दैनौँ, कांग्रेसको क्यारेक्टर यो होइन । तर, हामी सँगसँगै फेरि के भन्छौँ भने कोही मान्छे रास्वपाको नजिक छ वा प्रधानमन्त्रीको नजिक छ, प्रधानमन्त्रीको टिममा छ वा रास्वपाको सभापतिजीको टिममा छ भन्ने आधारमा उसले अतिरिक्त सुविधा पाउँदैन, उसले छुट पाउनु हुँदैन । त्यो कुरामा हाम्रो प्रश्न रहन्छ, हाम्रो विरोध रहन्छ, हाम्रो असहमति रहन्छ ।