काठमाडाैं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नेपालको राजनीतिमा वर्षौंदेखि कायम रहेको ‘झोले संस्कृति’ र संकीर्ण पहिचानलाई सधैंका लागि अन्त्य गर्न नयाँ अभियानको थालनी गरेका छन्।
राजनीतिक दलका सिद्धान्त र विचार आत्मसात् गर्दै देश रूपान्तरणका लागि लाग्ने कार्यकर्तालाई ‘झोले’ भनेर अपमानित गर्ने गरिएको उल्लेख गर्दै उनले अब रास्वपालाई यस्तो पहिचानबाट पूर्णरूपमा मुक्त गराउनुपर्ने दृढता व्यक्त गरे।
सुर्खेतको वीरेन्द्रनगरमा आयोजित रास्वपा कर्णाली प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै सभापति लामिछानेले पार्टीका आगामी औपचारिक कार्यक्रम, प्रशिक्षण, अधिवेशन तथा महाधिवेशनहरूमा अबदेखि परम्परागत झोलाको सट्टा आधुनिक ‘फाइल’ र ‘स्मार्ट डायरी’ प्रयोग गर्ने नीति लागू गरिएको घोषणा गरे।
उनले कसैको झोला बोक्ने वा पछि लाग्ने नभई देश निर्माणका लागि सबै मिलेर सँगै अगाडि बढ्ने स्पष्ट पारे। कार्यक्रममा सहभागीहरूलाई वितरण गरिने फाइलमा नागरिकका समस्या, गुनासा, जल्दाबल्दा मुद्दा तथा रचनात्मक सुझावहरू संकलन गर्न सकिनेछ भने ल्यापटप र आइप्याडजस्ता आधुनिक प्रविधिका साधनहरू पनि सजिलै राख्न सकिने संरचना तयार पारिएको उनले बताए।
सभापति लामिछानेले पार्टी र यसका गतिविधिहरूलाई बाह्य प्रायोजक वा विभिन्न गैरसरकारी (एनजीओ) तथा अन्तर्राष्ट्रिय गैरसरकारी (आइएनजीओ) संस्थाहरूको आर्थिक सहयोगबाट पूर्ण रूपमा टाढा राख्नुपर्नेमा विशेष जोड दिए।
पार्टी आफ्नै आन्तरिक स्रोत र सदस्यहरूको स्वेच्छिक सहयोगमा चल्ने बताउँदै उनले हुनेखाने साथीहरूले आर्थिक रूपमा कमजोर र दूरदराजका जिल्लाबाट आएका साथीहरूलाई सहयोग गर्ने परिपाटी बसाल्नुपर्नेमा जोड दिए। सोही क्रममा उनले मुगु, कालिकोट, हुम्ला र जुम्लालगायतका क्षेत्रबाट सहभागी भएका कार्यकर्ताहरूलाई सहजता प्रदान गर्न व्यक्तिगत तर्फबाट कम्तीमा दस जनाका लागि आवश्यक पर्ने फाइल खरिद गराइदिने घोषणासमेत गरे।
राजनीतिक प्रतिस्पर्धा र विकास निर्माणका विषयमा बोल्दै उहाँले चुनावी हारजीतसँग कर्णालीको विकासलाई कहिल्यै पनि सौदाबाजी नगर्ने प्रतिबद्धता जनाए। गत निर्वाचनमा कर्णालीमा सोचेजस्तो संसदीय उपस्थिति नभए पनि चुनावी परिणाम र विकासका पूर्वाधारबीच कुनै साइनो नहुने स्पष्ट पार्दै उनले भने, ‘हामी जीवनभर चुनाव हारौं वा सरकारमा रहोस्, कर्णालीका जनताले भोट नदिए पनि यो प्रदेश सधैं हाम्रो प्राथमिकताको अग्रस्थानमा रहनेछ।’ अन्य पुराना दलहरूले जस्तो मत दिए मात्र बाटो र पुल बनाइदिन्छौं भन्ने प्रवृत्तिको रास्वपाले सधैं विरोध गर्ने उनको भनाइ थियो।
कार्यक्रममा अनुशासनलाई पहिलो सर्त मान्नुपर्ने औंल्याउँदै सभापति लामिछानेले नेताहरूसँग फोटो खिचेकै भरमा स्थानीय तहको निर्वाचनमा टिकटको दाबी नगर्न कार्यकर्ताहरूलाई कडा निर्देशन दिँदै राजनीतिलाई चुनाव जित्ने माध्यम मात्र नभई निरन्तर रूपान्तरणको प्रक्रियाका रूपमा बुझ्न आग्रह गरे।